कृष्ण बहादुर लामिछाने
गोरखा २९ माघ
भिमसेन थापा गाउँ पालिका वडा नं. ८ महादेवटार गोरखामा हाट बजार मेला मङ्गलबार सम्पन्न भएको छ । यही पौष २९ गतेदेखि सुरु गरिएको गाउँ पालिका स्तरीय हाट बजार मेला हरेक महिनाको २९ गते लाग्ने गर्दछ । स्थानीय स्तरमा उत्पादन हुने तरकारी, अन्नबाली, गेडागुडी लगायतका कृषि उब्जनीको बेचबिखन गर्ने उद्देश्यले गाउँपालिका स्तरीय हाट बजार सुरुवात गरिएको भिमसेन थापा गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेले बताउनु भयो । अध्यक्ष पाण्डेले स्थानीय उपजहरु गाउँपालिकाभित्रै विक्री वितरण हुने, आर्थिक रुपमा स्थानीय कृषकहरु सबल बन्ने र कृषकहरुलाई आफ्नो पेशाप्रति थप जागरुक बनाउने उद्देश्यले गाउँ पालिकाले हाट बजार मेलाको सुरुवात गरेको बताउनु भयो । बुधबार हाट बजार मेलाको अनुगमन गर्दैै अध्यक्ष पाण्डेले गाउँ पालिकाले क्रमिक रुपमा हरेक वडामा हाट बजार सुरु गर्ने लक्ष्य लिएको समेत बताउनु भयो । करिब २० वटा स्टल रहेको हाट बजार निर्माणमा वडा नं. ८ र उद्यमशील साना किसान कृषि सहकारी संस्थाको सहयोग रहेको छ । हाट बजारमा करिब २५ लाखसम्मको कारोबार हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस