धादिङ २८ माघ
यही फागुन २ देखि १३ गतेसम्म धादिङबेसीको खुल्लामञ्चमा हुने सातौं धादिङ महोत्सव २०७६ को तयारी अन्तिम चरणमा पुगेको महोत्सव मूल आयोजक समितिका संयोजक एवं धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्रीले बताउनु भएको छ । बिचमा महोत्सव स्थलको बारेमा बिबाद देखिएता पनि हाल दलीय सहमति भएपश्चात खुल्लामञ्चमा नै महोत्सवको तयारी तिब्र गतिमा अगाडि बढिरहेको छ । ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत, पर्यटन र उद्योगको पूर्वाधार’ भन्ने मूल नाराका साथ हुन लागेको ‘सातौँ धादिङ महोत्सव २०७६’ लाई सफल बनाएर जान सबै संघ संस्थाले सहयोग गर्ने गरी विवाद रहित भएको खत्रीले बताउनु भयो ।
जिल्लाको कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रको प्रचारप्रसार तथा भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै महोत्सवको आयोजना गरिएको आयोजक संस्थाले जानकारी दिएको छ । महोत्सवबाट नाफा भएको रकम सामाजिक कार्यमा लगाउने अध्यक्ष खत्रीले बताउनुभयो । साँतौ धादिङ महोत्सव जिल्लाको पहिचानको रुपमा रहेकाले महोत्सव सफल पार्न सबैलाई अनुरोध समेत गर्नुभयो । महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने र ५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने लक्ष्य राखिएको छ । महोत्सवको मुख्य आकर्षणको रुपमा कृषि प्रर्दशनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी तथा विक्री वितरण रहने छन् ।
१२ दिनसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा कला प्रदर्शन, स्थानीय तहमा उत्पादन हुने बस्तु तथा सेवाको प्रद्धर्शनी, हस्तकलाबाट निर्मित सामग्री, खनिजजन्य बस्तुको प्रर्दशनी, दुग्धजन्य पदार्थको प्रदर्शनी, जडीबुटी प्रदर्शन तथा बिक्री स्टल राखिनेछ । महोत्सव अवधिभर नै रमाइलो मेलामा विभिन्न मनोरञ्जनात्मक स्टल राख्न लगाई मनोरञ्जन प्रदान गरिने कार्यक्रम रहेको वताईएको छ । महोत्सवमा जिल्लामा नै पहिलो पटक साहसिक खेल जीप लाइन राख्न लागिएको आयोजकले जनाएका छन् । महोत्सवमा १ सय ५५ वटा स्टल रहनेछ । अहिले बाल उद्यानका सामग्रीहरु जडान, स्टेज निर्माण र स्टलहरुलाई व्यवस्थित बनाउने काम चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस