धादिङ २७ माघ
प्रेम बहादुर तामाङ
रुवीभ्याली गाउँपालिकालाई पर्यटन क्षेत्रको रुपमा विकास गर्ने बागमती प्रदेशका सांसद जगत सिंखडाले बताउनु भएको छ । रुविभ्याली गाउँ पालिकाको शिक्षा क्षेत्रको विकास गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउदै सिंखडाले शिक्षा क्षेत्रमा कुनै पनि शिक्षकहरुले राजनीति गर्न नहुने बताउनु भयो । शिक्षक अभिभावक स्थानीय सरकारको एउटै ध्यान, बिद्यार्थीको चौतर्फी विकासमा साझा अभियान भन्ने मूल नाराका साथ सोमबार धादिङको रुवीभ्याली गाउँपालिका वडा नम्बर २ ठुलो गाउँस्थित गोथन देवी आधारभूत विद्यालयको ३१ औं बार्षिक उत्सव तथा अभिभावक भेलामा बोल्दै सिंखडाले सो कुरा बताउनु भएको हो । यसै गरी गोथन देवी आधारभूत विद्यालयका प्रधानाध्यापक कमल तामाङले विद्यालयको आर्थिक प्रगति प्रतिवेदन, आय व्याय प्रस्तुत गर्नु भएको थियो ।
रुवीभ्याली गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पेम्बा घलेको अध्यक्षता रहेको कार्यक्रममा बागमती प्रदेशका सांसद जगत सिंखडाको प्रमुख आतिथ्यता रहेको थियो । नेकपा जिल्ला कमिटी सदस्य मंग तामाङ, सेकेमान तामाङ, र राप्रपाका केन्द्रीय सदस्य गुम्बा घलेको बिशेष आतिथ्यता रहेको कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य चन्द्र बहादुर श्रेष्ठ लगायत स्थानीय जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । विद्यालयको वार्षिक, उत्सवकै अवसरमा विद्यालयमा भएका चित्रकला प्रतियोगिता, सुन्दर नेपाली अक्षर लेखन प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस