धादिङ २५ माघ
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ इजाराका यिवराज थापा क्षेत्रीले लोकल कुखुरा व्यवसाय सुरु गरेका छन् । विगत एक वर्षदेखि सुरु गरेको थापा कृषि तथा पशुपंक्षी फर्ममा अहिले लोकल कुखुरा, बट्टाई, कालो कुखुरा, लौकाट, टर्की जातका कुखुराहरु रहेका छन् । थापा बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म कुखुराकै स्याहार सुसारमा व्यस्त हुने गरेका छन् । एक वर्ष अगाडि २ सय कुखुरा राखेर ५ लाखबाट सुरु गरेको कुखुरा फर्ममा अहिले साना ठुला गरी २ सय ५० भन्दा बढी कुखुरा रहेका छन् । काठमाडाँैको एक कुखुरा फर्मको अवलोकनपछि सुरु गरेको यस व्यवसाय गर्न कुनै समस्या नभएको उहाँको भनाई रहेको छ । किसानहरुको अन्य व्यवसाय भन्दा लोकल कुखुरा व्यवसायबाट भविष्य राम्रो हुने यिवराज थापा क्षेत्रीको दावी रहेको छ । आम्दनी फस्ने हो की भन्दै दोधारै दोधारमा सुरु गरेको लोकल कुखुरा व्यवसायमा सोचेको भन्दा बढी आम्दानी हुन थालेपछि यिवराज थापा क्षेत्री छक्क परेका छन् । छोटो समयमै राम्रो आम्दानी हुने भएपछि अहिले ५ रोपनी जग्गामा १ हजार कुखुरा मासु उत्पादनको लागि पाल्ने तयारी गरेको थापाले बताएका छन् ।
लोकल कुखुराको बजार मुल्य एक किलोको ७ सय ५० रुपैंयामा फर्मबाटै विक्री वितरण हुने गरेको छ । माग अनुसार लोकल कुखुराको चल्ला १ सय २०, टर्कीको चल्ला ४ सय ५० मा विक्री वितरण हुने गरेको उहाँको भनाई रहेको छ । विहान र वेलुका दानापानी हेरिदए मात्रै पनि पुग्ने भएकाले लोकल कुखुरा पाल्न सजिलो हुने र अहिले लोकल कुखुरा खोज्दै ग्राहकहरु फर्ममै दैनिक आउने गरेका छन् ।
‘व्यवसायीक रुपमा लोकल कुखुरा पालन गरिसकेपछि विद्युत प्रयोग गरी चल्ला निकाल्नुपर्ने हुन्छ, जात लोकल हो, लोकल दानापानी खुवाउने हो सबै लोकल नै भएपछि स्वाद पनि लोकल नै हुन्छ । साथै अस्वस्थ प्रतिस्पर्धाका कारण पनि कहिलेकाँही तनाव हुने गरेको थापाले बताउनु भयो । विभिन्न समस्या, चुनौति र बाधाहरुकाविच पनि आफ्नो व्यवसायलाई निरन्तर अगाडि लैजाने उहाँले बताउनु भयो ।
विदेश जान नसकेर नपाएर होईन, नेपालमै केही गर्छु भन्ने उद्देश्यले लोकल कुखुरा व्यवसाय गर्न सुरु गरेको थापाको भनाई छ । सरकारले युवा व्यवसायीलाई प्रोत्साहन गर्न भन्दै विभिन्न युवा लक्षित कार्यक्रम ल्याएपनि कार्यन्वयनमा आउन नसकेको थापा क्षेत्रीको अनुभव छ ।
प्रतिक्रिया दिनुहोस