धादिङ २५ माघ
महिला उद्यमीहरुले बैंक तथा वित्तिय संस्थाबाट आफै पनि सहुलियतपूर्ण कर्जा पाउन नसकेको गुनासो व्यक्त गरेका छन् । धादिङ उद्योग बाणिज्य संघले पूर्णिमाः नीजिक्षेत्र विकास कार्यक्रम अन्तर्गत आयोजना गरेको महिला उद्यमी र बैंक तथा वित्तीय संस्थाहरुबिच अन्तरक्रिया कार्यक्रममा सहभागी महिला उद्यमीहरुले बैंकिङ प्रक्रियामा झेल्नु परेका समस्याहरु उठान गरेका थिए ।
कार्यक्रममा उद्यमी महिलाहरुको अपेक्षा, खेप्नु परेका चुनौति एवं अवसरहरुको बारेमा गहन छलफल भएको थियो । कार्यक्रममा कृषि विकास बैंक, राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक, सिद्धार्थ बैंक र मुक्तिनाथ विकास बैंकले आ–आफ्ना कर्जा सुविधाका बारेमा जानकारी गराएका थिए । उक्त अवसरमा महिला उद्यमीहरुको वित्तिय संस्थासम्म कसरी वृद्धि गर्न सकिन्छ ? भन्ने विषयमा समेत छलफल भएको थियो । कार्यक्रमको आयोजनामा नेपाल घरेलु तथा साना उद्योग महासंघ र महिला उद्यमी संघ धादिङको पनि सहकार्य रहेको थियो । कार्यक्रममा ६१ जना महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस