धादिङ २१ माघ
धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन, जलश्रोत तथा उद्योगको पूर्वाधार भन्ने मूल नाराका साथ धादिङ उद्योग वाणिज्य संघले यही फागुन २ गतेदेखि १३ गतेसम्म धादिङबेसीमा आयोजना गर्न लागेको सातौँ धादिङ महोत्सवको उद्घाटन गर्न प्रमुख अतिथिको रुपमा पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धादिङ आउने भएका हुन् । मङ्गलबार धादिङ उद्योग वाणिज्य संघले महोत्सवको तयारीका विषयमा पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी गराएको हो । धादिङ जिल्लाको सांस्कृतिक विविधताको संरक्षण गरी समग्र आर्थिक, सामाजिक विकासका लागि पर्यटन, कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास तथा सांस्कृतिक जागरण र पर्यटन प्रर्बद्धनमा टेवा पु¥याउदै विभिन्न जान जाति, वर्ग र समुदायबीच सद्भाव एवं भातृत्व अभिवृद्धि गरी आर्थिक उत्पादनको दृष्टिले जिल्लाको समुन्नतिमा सङ्गठित रुपले प्रयन्तशील रहने लक्ष्यका साथ महोत्सव आयोजना गर्न लागिएको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्रीले बताउनु भयो ।
धादिङ उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको सातौँ धादिङ महोत्सवको संरक्षक नीलकण्ठ नगरपालिका, मुख्य प्रायोजक हिमालयन ब्रअरी प्रा.लि., प्रायोजक ग्लोवल आ.एम.ई. बैक लिमिटेड, सह प्रायोजकहरुमा राष्ट्रिय वाणिज्य बैँक लिमिटेड, हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति, धादिङ, वैद्य अर्गनाइजेसन लगायतका रहनेछन् । करिब २ लाख भन्दा बढी दर्शकहरुले महोत्सव अवलोकन गर्ने अपेक्षा गरेको ५ करोड भन्दा बढीको कारोबार हुने आयोजकले अपेक्षा गरेको छ । महोत्सवको आकर्षणहरुमा, स्थानीय स्तरमा उत्पादन हुने वस्तु तथा सेवाको प्रर्दशनी, कृषि प्रर्दशनी, साना तथा घरेलु उत्पादनको प्रर्दशनी, सांस्कृतिक प्रर्दशनी, हस्तकलाको प्रर्दशनी, औद्योगिक वस्तुहरुको प्रर्दशनी, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुती, बाल उद्यान लगायतका रहने छन् । करिब १ सय ५५ वटा स्टल रहने महोत्सवमा नयाँ आकषर्णको रुपमा जिप लाइन खेल रहेको छ । धादिङवेसीस्थित खुल्लामञ्चमा हुने महोत्सव तयारीको काम तिव्र गतिमा अगाडि बढेको छ ।
प्रतिक्रिया दिनुहोस