रसुवा २१ माघ
नीलकण्ठ महादेव मन्दिर कालिका गाउँ पालिका वडा नं. ५, थुम्कीमा बृहत शिव पुराण प्रवचन महायज्ञको आयोजना हुने भएको छ । श्री नीलकण्ठ महादेव मन्दिर संरक्षण समिति कालिका–५, रसुवाको आयोजनामा यही माघ २८ गतेदेखि फाल्गुण ९ गतेसम्म हुन गइरहेको शिव पुराण प्रवचन सफल पार्नका लागि मङ्गलबार विभिन्न उपसमितिहरुको गठन गरिएको हो । ज्योतिषाचार्य पण्डित बालचन्द्र अधिकारीको मुखारबृन्दबाट कथा वाचन हुने सो शिव पुराण महायज्ञ विशाल शिव मूर्ति स्थापना तथा सनातन धर्मको संरक्षण र सर्बद्धनका लागि आयोजना गर्न लागिएको नीलकण्ठ महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष भवनाथ पौडेलले बताउनु भयो ।
शिव पुराण प्रवचन सफल पार्न मङ्गलबार ७ वटा उप समिति गठन गरिएको छ । आर्थिक व्यवस्थापन उपसमितिमा साधुराम पौडेल, प्रचार प्रसार उपसमितिमा घनश्याम पौडेल, मञ्च व्यवस्थापन उपसमितिमा चित्र बहादुर तामाङ, खाना व्यवस्थापन उप समितिमा नेत्र प्रसाद पौडेल, कलश यात्रा उप समितिमा सरला देवकोटा, अतिथि सत्कार उप समितिमा विष्णु प्रसाद देवकोटा र स्वयंसेवक व्यवस्थापन उप समितिमा रवि घले संयोजक रहनु भएको छ । रसुवा जिल्लाकै पुरानो र ऐतिहासिक धार्मिक स्थलको रुपमा स्थापित थुम्की महादेव मन्दिरका रुपमा चिनिने नीलकण्ठ मन्दिरमा वर्षेनी विभिन्न धार्मिक मेला महोत्सवहरु हुदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस