धादिङ २० माघ
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित साङकोष बतासेका महिलाहरु च्याउ खेती तर्फ आकर्षित भएका छन् । च्याउखेतीबाट राम्रो आम्दानी हुन थालेपछि साङ्कोषका महिलाहरु सामुहिक रुपमा च्याउ खेतीतर्फ आकर्षित भएका हुन् । कृषि ज्ञान केन्द्र धादिङले च्याउखेती सम्बन्धी दुई दिने तालिम दिएपछि उनीहरु च्याउखेती तर्फ आकर्षित भएको च्याउखेती किसान सीता अधिकारीले बताउनु भयो । अधिकारीको बारीमा बनाइएको टनेलमा २ सय ८० वटा पोकामा झुण्ड्याएर च्याउ लगाइएको छ । साङ्कोषको बतासे र आँगेटारी गरी दुई स्थानमा च्याउ खेती गरिएको अधिकारीले बताउनु भयो । महिला किसानहरुको आर्थिक र सामाजिक स्तर बृद्धि गर्ने उद्देश्यले स्थापित साङकोष महिला कृषि सहकारीमा आवद्ध महिलाले पहिलो पटक व्यवसायिक रुपमा च्याउ खेती शुरु गरेका हुन् ।
आर्गानिक रुपमा उत्पादन गरिएको च्याउ खेतीको बारीबाटै प्र्रतिकिलो २ सय रुपैयाँमा बिक्री वितरण हुन थालेपछि च्याउको माग एक्कासी बढेको सीता अधिकारीले बताउनु भयो । बतासेका महिलाहरुले सामुहिक रुपमा पहिलो पटक गरिएको च्याउखेती व्यवसायिक रुपमा गर्ने लक्ष्य लिएको साङकोष महिला कृषि सहकारी संस्थाकी अध्यक्ष पम्फा नेपालीले बताउनु भयो । उहाँका अनुसार यस सहकारीमा आबद्ध महिलालाई ब्यवसायिक रुपमा कृषिको माध्यमबाट अत्मनिर्भर गराउन च्याउ खेती शुरू गरिएको उहाँको भनाई छ । सानो लगानी र थोरै परिश्रममा च्याउ खेतीबाट राम्रो आम्दानी हुन थालेपछि स्थानीय महिलाको उत्साह बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस