धादिङ १९ माघ
धादिङको नीलकण्ठ नगरपालिका वडा ४ पौवामा रहेको ऐतिहासिक पौवा घर जिर्ण बन्दै गएको छ । २०७२ सालको भूकम्पले आंशिक रुपमा जिर्ण बनाएको पौवाघरको अधिकांश भागहरु भत्केता पनि नीलकण्ठ नगरपालिका धादिङ बेखबर बनेको छ । हरेक वर्ष दशैको नवमीका दिन बिशेष जात्रा लाग्ने धादिङको ऐतिहासिक सो पौवा दरबार करिब ४ सय वर्ष पुरानो रहेको शिलापत्रमा उल्लेख गरिएको छ । धादिङ जिल्लामा रहेको ऐतिहासिक धरोहर मासिदै जाँदा समेत नीलकण्ठ नरपालिका, तथा सरोकारवालाहरुले चासो देखाएका छैनन् । हाल पौवा घरको भग्नावशेष मात्र बाकि रहेको र अत्यन्तै जिर्ण बन्दै गएको पौवा दरबार संरक्षण समितिका सचिव सूर्य तामाङ बताउनु हुन्छ । पौवा घरमा प्रयोग भएको कलात्मक काठ अहिले कतिपय काम नलाग्ने गरी कुहिदै गएको छ भने शिलालेखमा लेखिएका अक्षरहरु समेत मेटिदै गएका छन् । दशैँको नवमीका दिन बिशेष मेला लाग्ने उक्त पौवा दरबारमा तत्कालीन राज परिवारका सदस्यहरु बास बस्ने मानबहादुर श्रेष्ठ बताउनु हुन्छ । पौवा दरबारको चन्द्र वीरले दशैको नवमीका दिन पुजा गर्ने भएकाले उक्त दरबार चन्द्र गुठीको नामले प्रख्यात भएको स्थानीय बासिन्दा शिवकुमारी थापा मगरले बताउनु भयो ।
भ्रमण वर्ष २०२० लाई सफल पार्नको लागि यस्ता ऐतिहासिक धरोहरहरुको संरक्षण, प्रचार प्रशारमा सम्बन्धित स्थानीय तहको ध्यान जान सके आन्तरिक तथा बाह्य पर्यटन प्रर्बद्धनमा टेवा पुग्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस