धादिङ १५ माघ
धादिङबाट सञ्चालित प्रत्येक सवारी साधनमा जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई ५० प्रतिशत छुटको व्यबस्था हुनु पर्ने नीलकण्ठ नगरपालिका धादिङका मेयर भिम प्रसाद ढुङगानाले बताउनु भएको छ । बुधबार धादिङ मण्डली यातायात प्रा. लि द्धारा सञ्चालित ए.सि डिलक्स बसको शुभारम्भ गर्दै ढुङगानाले सो कुरा बताउनु भएको हो । नीलकण्ठ नगरपालिका धादिङका मेयर भीमप्रसाद ढुङगानाले रिबन काटेर बसको शुभारम्भ गर्नु भएको थियो । यसै गरी धादिङ जिल्लामा यातायातका साधनहरु नयाँ ढङगले सञ्चालनमा आउनु अति राम्रो भएको बताउँदै ढुङगानाले सिट भन्दा बढि यात्रुहरु नहाल्न धादिङ मण्डली यातायात प्रा. लि.लाई आग्रह गर्नु भएको छ । धादिङ मण्डली यातायात प्रा.लि.द्धारा सञ्चालित ए.सि डिलक्स बसको २७ सिट रहेको छ भने धादिङ काठमाण्डौँको भाडा रु ३ सय रुपैँया कायम गरिएको धादिङ मण्डली यातायात प्रा.लि का अध्यक्ष शरद अधिकारीले बताउनु भयो । यात्रुहरुको यात्रा सहज र प्रभावकारीतालाई मध्ये नजर गर्दै यस सेवालाई बिस्तार गर्ने लक्ष्य रहेको छ । धादिङ जिल्लाबाट सञ्चालित अन्य यातायातहरुले अपाङगता र जेष्ठ नागरिकहरुलाई भाडादरमा छुट दिन्छ भने यस प्रा.लि. ले पनि सोही अनुसार छुट दिने अधिकारीले बताउनु भयो । धादिङ मण्डली यातायात प्रा.लि.का अध्यक्ष शरद अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा नीलकण्ठ नगरपालिका धादिङका मेयर भिम प्रसाद ढुङगानाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रहरी उपरीक्षक रविन्द्र रेग्मी, धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री लगायत विभिन्न संघ÷संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस