धादिङ १५ माघ
यही माघ ७ गते नीलकण्ठ नगरपालिका वडा नं. ८ ससाहा ज्यामिरेमा भएको आईचर दुर्घटनामा मृत्यु भएका परिवारलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नीलकण्ठ नगर कमिटी धादिङले बुधबार आर्थिक सहयोग गरेको छ । आईचर दुर्घटनामा मृत्यु भएका परिवारलाई नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नीलकण्ठले मृतकको घरैमा पुगेर जनही रु १५ हजार रुपैयाँ राहत स्वरुप आर्थिक सहयोग गरेको हो । सहयोग रकम हस्तान्तरण कार्यक्रममा बुधबार प्रतिनिधि सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य खेम प्रसाद लोहनीलेप्रति मृतक परिवारलाई रु १५ हजारका दरले रकम हस्तान्तरण गर्नुभएको समाजसेवी नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो । दुर्घटनामा परेर ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गर्नका लागि नेकपा नीलकण्ठ नगर कमिटिको विभिन्न तहका नेता तथा कार्यकर्ताहरुबाट आर्थिक सहयोग संकलन गरिएको श्रोतले जनाएको छ । सहयोग रकम हस्तान्तरणका लागि प्रतिनिधिसभा सदस्य खेम प्रसाद लोहनी, सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल, नीलकण्ठ नगरपालिकाका उप–मेयर मनराज भण्डारी, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) धादिङका अध्यक्ष नेत्रराज पौडेल, नेकपा नेता राम बहादुर भण्डारी, धादिङ उद्योग बाणिज्य सङ्घका अध्यक्ष रुद्र बहादुर खत्री लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । ढोला मण्डलीको दर्शन गरी फर्कने क्रममा माघ ७ गते धादिङको नीलकण्ठ नगरपालिकास्थित ससाह ज्यामिरेमा नीलकण्ठ नगरपालिका वडा नं २ भुलभुलेका ७ जना स्थानीयहरुले ट्रक दुर्घटनामा परी ज्यान गुमाएका थिए भने ३१ भन्दा बढी घाईते भएका थिए ।
प्रतिक्रिया दिनुहोस