धादिङ १५ माघ
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ५ चिसापानी सामुदायिक स्वास्थ्य इकाई सल्यानकोटमा बुधबार नसर्ने रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । अभिमुखीकरण कार्यक्रममा वर्तमान परिवेशमा नेपालमा बढ्दै गएको मुट रोग, मृगौला रोग, क्यान्सर, मधुमेह रोग उच्च रक्तचाप लगायत नसर्ने रोगहरुको बारेमा छलफल गरिएको थियो । विशेष गरी नेपालीहरुको बदलिएको जीवन शैली, रहन सहन तथा खानपानका कारण नसर्ने रोगहरु बढ्दै गएको अवस्था, नियन्त्रण र व्यवस्थापन गर्न आफ्नै दैनिक खानपान र जीवनशैलीमा परिवर्तन गर्न आवश्यक जस्ता विषयवस्तुहरुको बारेमा छलफल गरिएको थियो । यस्तै विषादियुक्त खानेकुरा नियन्त्रण गर्न, प्राकृतिक खानेकुरालाई विशेष ध्यान दिने र शारीरिक कसरत जस्ता व्यायम नियमित गरी स्वास्थ्य परीक्षण गर्न सके यस्ता नसर्ने रोग लाग्नबाट बच्न सकिने बारेमा छलफल गरिएको थियो । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष कुश बहादुर सिटौलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा व्यापारी, शिक्षक, बुद्धिजिवी नागरिकहरु, समाजसेवीहरु, लगायत स्थानीयहरु गरी ५७ जनाको सहभागिता रहेको त्रिपुरासुन्दरी गाउँपालिकाका स्वास्थ्य संयोजक याम बहादुर श्रेष्ठले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस