धादिङ १२ माघ
धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ मा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष भुवन त्रिपाठीको परिवारले ६ जनाको स्वास्थ्य बिमाको कार्ड लिई औपचारिक रुपमा नागरिकको स्वास्थ्य विमा अभियान सुरु गरेका हुन् । स्वास्थ्य बिमाको कार्ड लिदै वडा अध्यक्ष त्रिपाठीले कार्डको आधारमा बिमा गरिसकेका सदस्यहरुले नेपाल सरकारले तोकेको अस्पतालबाट रु १ लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सकिने बताउनु भयो । ५ जना सम्मको परिवारले स्वास्थ्य बिमा गर्दा वर्षमा ३५ सय रुपैयाँ तिर्नु पर्दछ । त्यो भन्दा बढी सदस्य भएको परिवारले प्रतिव्यक्ति ७ सय रुपैयाँ तिर्नुपर्ने र बिमा गरेका ५ सदस्य परिवारले एक वर्षमा बढीमा एक लाख र १० सदस्य भएका परिवारले बर्षमा दुई लाख बराबरको स्वास्थ्य सेवा पाउँनेछन् । बिमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने नेपाल सरकारले नै बिमा रकम वापतको शुल्क तिरिदिने व्यवस्था रहेको त्रिपाठीले बताउनु भयो । सरकारले अति विपन्न नागरिकलाई शतप्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरिबीको रेखामुनी रहेका नागरिकलाई ५० प्रतिशतका दरले बिमा रकम बापतको शुल्क तिरिदिने व्यवस्था रहेको हुँँदा स्वास्थ्य विमा सबैले गर्नु पर्ने त्रिपाठीको भनाई रहेको छ ।
यसै गरी धादिङको ज्वालामुखी गाउँपालिकामा पनि स्वास्थ्य वीमा कार्यक्रम शुभारम्भ भएको छ । गाउँपालिकाका अध्यक्ष विनोद तिमल्सिनाको स्वास्थ्य बिमा गराएर स्वास्थ्य बिमा कार्यक्रमको शुभारम्भ गरिएको हो । कार्यक्रममा बिमा गर्दाको फाईदा, बिमा के–कसरी गर्ने र स्वास्थ्य बिमा गराउनेको संख्या कसरी बढाउन सकिन्छ भन्ने बारेमा जानकारी गराईएको थियो ।
प्रतिक्रिया दिनुहोस