कृष्ण बहादुर लामिछाने
गोरखा ११ माघ
नवज्योति माध्यमिक विद्यालय भिमसेन थापा गाउँ पालिका ३ तान्द्राङ गोरखाको ३४ आँै वार्षिक उत्सव, अभिभावक दिवस र नवर्निमित विद्यालय भवन उद्घाटन शनिबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका भिमसेन थापा गाउँ पालिका गोरखाका अध्यक्ष ईश्वर पाण्डेले दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको हो । साथै जिल्ला पुर्न निर्माण आयोजना कार्यान्वयन इकाई शिक्षा गोरखाबाट निर्मित ४ कोठे र ८ कोठे २ वटा भवनको समेत उद्घाटन गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले प्रविधिमैत्री शिक्षा र गुणस्तरीय शिक्षामा विशेष जोड दिनु भएको र गाउँ पालिकाभित्र गुणस्तरीय शिक्षामा उत्कृष्ठ विद्यालयलाई र सम्बन्धित विषय शिक्षकलाई गाउँ पालिकाले पुरस्कृत गर्दै आएकाले निरन्तर प्रोत्साहन गर्ने प्रतिबद्धता जनाउनु भयो । पाण्डेले विद्यालयको शैक्षिक स्तर विकास गर्न शिक्षक, व्यवस्थापन समिति, अभिभावकको उत्तिकै भूमिका रहने बताउनु भयो ।
कार्यक्रममा युवा पलायन र समाधानका उपाय विषयक गाउँ पालिका स्तरीय अन्तरमाध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता समेत सम्पन्न भएको थियो । जसमा शान्ती मावि बगुवा प्रथम, सरस्वती मावि बोर्लाङ द्धितीय र प्रभात मावि धावा तृतीय र नवज्योति मावि सान्त्वना भएका छन् । कार्यक्रममा विद्यालय स्तरीय खेलकुद, लगायत विभिन्न प्रतियोगितामा विजयीहरुलाई पुरस्कृत गरिनुका साथै समयसीमाभित्रै काम सम्पन्न गर्ने निर्माण व्यवसायी सैलेश लामिछाने र विद्यालयलाई विभिन्न विधामा सहयोग पु¥याउने सहयोगी महानुभावहरुलाई सम्मान समेत गरिएको थियो । एस.इ.इ परीक्षा २०७५ मा उत्कृष्ठ जिपिए ल्याउने अञ्जली पुडासैनी र सजता लामिछानेलाई रु. ५ हजार सहित प्रशंसा प्रत्र प्रदान गरिएको थियो । नन्द प्रसाद डम्बर कुमारी छात्रबृत्ति अक्षयकोषबाट अञ्जली पुडासैनी र रोशन लामिछानेलाई प्रतिव्यक्ति नगद ५ हजार छात्रवृति प्रदान समेत गरिएको थियो ।
शिक्षक राम्जि भट्टले सञ्चालन गरेको कार्यक्रममा शिक्षक नरेन्द्र बगालेले स्वागत मन्तव्य तथा प्रधानाध्यापक ठाकुर प्रसाद लामिछानेले विद्यालयको शैक्षिक भौतिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियाृे । विद्यालय व्यवस्थापन समिति अध्यक्ष रत्न प्रसाद पुडासैनीको अध्यक्षता रहेको कार्यक्रममा भिमसेन थापा गाउँ पालिकाका अध्यक्ष ईश्वर पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । भिमोदय बहूमुखी क्याम्पसका प्रमुख विरेन्द्र पुडासैनी, सामुदायिक सिकाई अध्ययन केन्द्र गण्डकी प्रदेशका संयोजक बालकृष्ण लामिछाने, चिल्ड्रेन अफ द माउन्टेनका संस्थापक जोन मेथु, वडा अध्यक्ष लिलानाथ लामिछाने लगायतको विशेष आतिथ्यता रहेको कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक , संघ संस्थाका प्रतिनिधि, अभिावकहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस