धादिङ ०७ माघ
धादिङको नीलकण्ठ नगरपालिका वडा नं ८ ससाह ज्यामिरेमा आइचर ट्रक दुर्घटना हुदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १ जनाको उपचारका क्रममा जिल्ला अस्पताल धादिङमा मृत्यु भएको हो । दुर्घटनामा ३१ भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका वडा नं. २ भुलभुलेका स्थानीयहरु रहेका छन् । बिदुर गुरुङ, ध्वज ब गुरुङ, सुनिल भनिने तिलक बहादुर गुरुङ, पूर्ण नारायण श्रेष्ठ, प्रेम ब गुरुङ, बेल बहादुर गुरुङ, र सेते गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । ढोला मण्डलीबाट धादिङबेसीतर्फ आउँदै गरेको ग १ ख ८०१२ नम्बरको आइचर ट्रक अत्याधिक यात्रु बोकेका कारण अनियन्त्रित भई दुर्घटना भएको हो । घाइतेहरुलाई स्थानीय बासिन्दा र नेपाल प्रहरीले उद्धार गरेको थियो । घाइतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भैरहेको छ । गम्भीर घाइते १२ जनालाई हेलिकप्टरबाट थप उपचारको लागि काठमाडौँस्थित ट्रमा सेन्टर लगिएको हो ।
प्रतिक्रिया दिनुहोस