धादिङ ०१ माघ
धादिङको नीलकण्ठ नगरपालिका वडा नं ५ खाल्टे फ्याक्सेमा छैटौँ गोरु जुधाई महोत्सव तथा विबिध सांस्कृतिक कार्यक्रम बुधबार सम्पन्न भएको छ । हाम्रो संस्कृति हाम्रो पहिचान, पर्यटन प्रबद्र्धन अभियान भन्ने मुल नाराका साथ चमेरो गुफा संरक्षण समाज नीलकण्ठ ५ फ्याक्से धादिङले उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका एनआरएनएका सह–कोषाध्यक्ष लोक प्रसाद दाहालले शान्तिको प्रतिक परेवा उडाएर कार्यक्रमको उद्ध्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनएका सह–कोषाध्यक्ष लोक प्रसाद दाहालले धादिङको पर्यटन क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनको लागि आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
गोरु जुधाई महोत्सवले समग्र खाल्टेको चमेरो गुफा, र भ्युटारको संरक्षण हुँदै गएको दाहलले बताउनु भयो । चमेरो गुफा संरक्षण समाजका अध्यक्ष प्रितम श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा एनआरएनए का केन्द्रीय सह कोषाध्यक्ष लोक प्रसाद दाहालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा समाजसेवी एवं धादिङ पोखरा सम्पर्क समितिका पुर्व अध्यक्ष युवराज खतिवडाको विशेष आतिथ्यता, नीलकण्ठ नगरपालिका वडा नं ५ का वडा अध्यक्ष राम बहादुर श्रेष्ठ, जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, विभिन्न सघ/संस्थाका प्रतिनिधि, सञ्चारकर्मीहरु लगाएतको आतिथ्य रहेको थियो ।
ग्रामीण पर्यटनलाई प्रबद्र्धन र संस्कृति जर्गेना गर्ने उद्देश्यले प्रतियोगितात्मक रुपमा भएको गोरु जुधाईमा खाल्टेका किसानहरुको ७ हल गोरुवीच कडा प्रतिस्पर्धा भएको थियो । छैटौ महोत्सवमा जुध्ने गोरुलाई ३ वर्गमा विभाजन गरिएको थियो । जस अनुसार क वर्गको विजेता गोरुले ६ हजार रुपैयाँ, उपविजेता गोरुले ३ हजार ५ सय, ख वर्गको विजेता गोरुले ५ हजार र ग वर्गको विजेता गोरुले ३ हजार नगद र प्रमाण पत्र दिएकोे छ । कार्यक्रममा हास्यव्यङग्य कलाकार सक्किगोनीका कलाकार धतुरे र खुपिका बाउ तथा दिक्षा ठकुरी, लोक गायिका सपना परियार लगायत अन्य कलाकारहरुले सहभागिहरुलाई आफ्नो प्रस्तुतिमार्फत मनोरञ्जन गराएका थिए ।
प्रतिक्रिया दिनुहोस