सुमन अधिकारी
धादिङ ०१ माघ
माघे सक्रान्ती पर्वको दिन नीलकण्ठ नगरपालिका वडा नं १४ धुँवाकोटमा गोरु जुधाई तथा बिबिध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । संस्कृति संरक्षण तथा पर्यटन प्रबद्र्धन केन्द्र धुवाकोट धादिङको आयोजना तथा भगेरी युवा क्लवको सहआयोजनामा भएको कार्यक्रममा संस्कृति संरक्षण तथा पर्यटन प्रबद्र्धन केन्द्र धुवाकोटका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता तथा प्रदेश सांसद डा. राम कुमार अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारी, रसुवा नुवाकोट पर्यटन समाजका उपाध्यक्ष सन्तोष न्यौपाने र नीलकण्ठ नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष फन्द्रा तामाङको विशेष आतिथ्यता रहेको थियो ।
आन्तरिक तथा वाह्य पर्यटन प्रबद्र्धन गर्ने र पर्यटन वर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यका साथ आयोजित गोरु जुधाई कार्यक्रममा धुवाकोटका किसानहरुको १६ हल गोरुबीच प्रतिस्पर्धा गरिएको थियो । प्रतियोगितात्मक रुपमा आयोजना भएको गोरु जुधाई कार्यक्रममा प्रथम हुने गोरुधनीलाई रु ७ हजार र द्धितिय हुने गोरुधनीलाई रु ५ हजार र बराबरी हुने गोरु धनिलाई रु ६ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस