धादिङ २९ पौष
रेडियो बिहानी ९७.६ मेगाहर्ज सञ्चालक संस्था सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेड नीलकण्ठ–३, धादिङको अध्यक्षमा मनराज भण्डारी निर्वाचित हुनुभएको छ । मङ्गलबार संस्थाको १० औँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले भण्डारीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्व सहमतिमा निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा सुदर्शन खतिवडा र दिपा कंडेल, महासचिवमा बोधनाथ दुवाडी, कोषाध्यक्षमा गीता अधिकारी र सचिवमा शंकर अधिकारी रहनु भएको छ । सदस्यहरुमा विष्णु श्रेष्ठ, रामेश्वर सिंखडा, नारायणी भण्डारी, अमृत तामाङ, रामशरण सेन्चुरी, ईश्वरी बहादुर लम्साल, सुरेश मगर, विपना रिजाल र शुक्र कुमार श्रेष्ठ रहनु भएको छ । यस्तै अधिवेशनले पुष्प थपलियाको संयोजकत्चमा ३ सदस्यीय लेखा समिति समेत चयन गरेको छ । जसको सदस्यहरुमा कमला श्रेष्ठ, चन्द्र बहादुर लम्साल रहनुभएको छ ।
संस्थाका अध्यक्ष जगत बहादुर सिंखडाको अध्यक्षता रहेको समारोहमा वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता तथा, जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको विशेष आतिथ्यता रहेको थियो । यस्तै नेकपा नेता राम बहादुर भण्डारी, बेदनिधि अधिकारी, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री लगायतको आतिथ्यता रहेको थियो ।
सभालाई सम्बोधन गर्दै वागमती प्रदेशमा आन्तरिक मामिला तथा कानुन मन्त्री सालिकराम जम्कटेलले अहिले पनि सत्तामा रहेर काम गर्ने व्यक्तिहरुको कार्यशैली पुरानै प्रणालीको रहेको बताउनु भएको छ । वर्तमान समयमा सञ्चालन भएका विकास निमार्णका कामहरुमा परिणामलाई भन्दा पनि कागजी प्रक्रिया पुरा गर्ने हिसाबमा मात्र भएको उँहाले बताउनु भयो । जम्कट्टेलले अहिले नागरिकले परिवर्तन चाहेको भन्दै परिस्थितिलाई बुझेर विकास निर्माणका काममा लाग्न सम्पूर्ण व्यक्तिलाई आग्रह गर्नु भएको छ ।
समारोहकै अवसर पारी १० वर्षे जनयुद्धको क्रममा धादिङ जिल्लाबाट सहादत प्राप्त गर्नुहुने सहिद तथा राज्यद्धारा वेपत्ता पारिएका वेपत्ता परिवारलाई सम्मान समेत गरिएको थियो । यस्तै रेडियो बिहानी ९७.६ मेगाहर्जको वर्ष उत्कृष्ठ संवाददाता पुरस्कार भिमसेन थापा गाउँपालिका–३, तान्द्राङ गोरखाका कृष्ण बहादुर लामिछानेलाई प्रदान गरिएको थियो । यसैगरी १० वर्षे जनयुद्धको क्रममा धादिङ जिल्लाबाट सहादत प्राप्त गर्नुहुने र राज्यद्धारा वेपत्ता पारिएका परिवारबाट एक/एक जनालाई सोही संस्थाको १०/१० कित्ता सेयर प्रदान गरिने समेत घोषणा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस