धादिङ २७ पौष
हेड्स नेपाल जिल्ला कार्यसमिति धादिङको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनले भुपेन्द्र कुमार श्रेष्ठको अध्यक्षता १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा चन्द्र बहादुर लम्साल, महिला उपाध्यक्षमा कविता अर्याल, सचिवमा नारायणलाल श्रेष्ठ, कोषाध्यक्षमा दोर्णचार्य सिंखडा सह–सचिवमा दिनेश भाई अधिकारी रहेका छन् । आइतबार धादिङवेसीमा सम्पन अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । आकस्मिक स्वास्थ्य सेवाको आवश्यकता परेका तथा आर्थिक रुपले विपन्न विरामीहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले बगुवा स्वास्थ्य कल्याण समितिको नाममा वि.सं २०५० साल जेष्ठ १ गते काठमाण्डौमा स्थापना भएको हेड्स नेपाल धादिङ लगायत नेपालका विभिन्न जिल्लामा स्थापना भएको छ ।
हेड्स नेपाल जिल्ला कार्यसमिति धादिङका संयोजक भुपेन्द्र कुमार श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रमा केन्द्रीय अध्यक्ष ईश्वर चन्द्र बाँनियाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष प्रतापराज वन्त र नीलकण्ठ नगरपालिका धादिङका उप प्रमुख मनराज भण्डारी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका सभापति सीताराम कोइराला, हेड्स नेपालका केन्द्रीय सल्लाहकार राम कुमार श्रेष्ठ लगायत विभिन्न संघ÷संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बाँनियाले दुखी र पीडितहरुको अभाव, आकस्मिकता र आवश्यकताको पहिचान गरी सहयोग गर्ने गरेको र स्वास्थ्य, शिक्षा, कृषि र विकासमा सहयोग गर्ने उद्देश्यले हेड्स नेपालको स्थापना भएको बताउनु भयो । हेड्स नेपालले अहिले स्वास्थ्य, शिक्षा, कृषि र समाज विकासका विविध विषयहरु तथा प्राकृतिक तथा मानवीय कमजोरीका कारण आइपर्ने विपत्तिहरुमा समेत सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस