धादिङ २२ पौष
आफू र आफ्नो संस्था टुकी नेपाल समाजले ग्रामीण क्षेत्रमा शिक्षाको विकासका लागि विशेष सहयोग गर्ने टुकी नेपाल समाजका अध्यक्ष, समाजसेवी तथा सफल पर्यटन व्यवसायी राम प्रसाद सापकोटा कमलले बताउनु भएको छ । मङ्गलबार स्थानपति माध्यमिक विद्यालय नीलकण्ठ १० ज्यामरुङको ४१ औँ वार्षिक उत्सव तथा अभिभावक भेलालाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । सापकोटाले देशको विकास र सम्बृद्धिका लागि शैक्षिक विकास अपरिहार्य रहेको बताउदै सरकारी तथा नीजि विद्यालयहरुमा गुणस्तरीय शिक्षा र प्राविधिक शिक्षा लागु गर्न अति आवश्यक रहेको बताउनु भयो ।
टुकी नेपाल समाजले निर्माण गरेको ४ कोठे पक्की भवन
स्थानीय सरकार र स्थानपति माध्यमिक विद्यालय बीच सहकार्य गरी अगाडि बढ्न सके शैक्षिक स्तरमा सुधार आउने बताउँदै यस विद्यालयको आर्थिक तथा भौतिक क्षेत्रमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । सापकोटा अध्यक्ष रहेको टुकी नेपाल समाजले उक्त विद्यालयमा ४ कोठे पक्की भवन निर्माण, १० जना विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्तिको व्यवस्थाका साथै विभिन्न शैक्षिक सामग्रीहरु सहयोग गर्दै आएको छ ।
स्थानपति माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधिका धमलाको अध्यक्षता रहेको कार्यक्रममा टुकी नेपाल समाजका अध्यक्ष, समाजसेवी तथा सफल पर्यटन व्यवसायी राम प्रसाद सापकोटा कमलको प्रमुख आतिथ्यता रहेको थियो । नीलकण्ठ नगरपालिका वडा नं १० का वडा अध्यक्ष विजयराज इटनीको विशेष आतिथ्यता रहेको कार्यक्रममा शङखा देवी माध्यमिक विद्यालयका प्रधानाध्यापक भोजराज पोखरेल, स्थानपति माध्यमिक विद्यालयका पुर्व विद्यालय व्यस्थापन समितिका अध्यक्ष कृष्ण लाल उप्रेती, स्थानपति माध्यमिक विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ पाठक लगायत शिक्षक÷शिक्षिकाहरु लगायत विद्यार्थी, अभिभावकहरुको सहभागिता रहेको थियो ।
वार्षिक उत्सवकै अवसरमै विद्यालयको आर्थिक, भौतिक तथा शैक्षिक विकासमा अहोरात्र खटी सहयोग गर्ने अभिभावक तथा शिक्षक शिक्षिकाहरु र विभिन्न शीर्षकमा अक्षय कोष स्थापना गर्ने व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । सोही विद्यालयका उत्कृष्ठ ३ शिक्षक/शिक्षिकाहरुलाई समेत सम्मान गरिएको थियो ।
भिडियोको लागि यो लिङ्क क्लिक गर्नुहोला ।
प्रतिक्रिया दिनुहोस