धादिङ १८ बैशाख
१३० औँ मजदुर दिवसको अबसरमा धादिङमा विभिन्न मजदुर संघ सङ्गठनहरुले प्रभातफेरी तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघ धादिङ र नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन धादिङको सयुक्त आयोजनामा बीचबजार क्याम्पस चोकबाट ¥यालीसहित पुछार बजारमा आइ शुभकामना आदान प्रदान तथा अन्तरकृया कार्यक्रम सञ्चालन गरिएको हो । क्युपेक धादिङका अध्यक्ष हेम बहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा क्युपेक केन्द्रिय सचिव योगेन्द्र शर्माको प्रमुख आतिथ्यता, प्रतिनिधिसभा सदस्य खेम प्रसाद लोहनीको विशेष आतिथ्यता रहेको थियो ।
यस्ते नेकपा नेताहरु गुरु प्रसाद बुर्लाकोटी, राम बहादुर भण्डारी, सम्भु कुमार श्रेष्ठ, रेडियो बिहानीका स्टेशन म्यानेजर सञ्जय देवकोटा, अखिल नेपाल यातायात मजदुर संघका जिल्ला अध्यक्ष अक्कल बहादुर भण्डारी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै नेकपा नेता गुरु बुर्लाकोटीले समाजवादी व्यवस्था आएपछि मजदुरहरुले सहज तरिकाले आफ्नो आवाज उठाउनपर्ने बताउदै मजदुरहरुको ज्याला निर्धारण पारदर्शी र प्रभावकारी नभएको बताउनु भयो । यस्तै सांसद खेम लोहनीले सम्पूर्ण मजदुरहरुको पक्षमा सरकारले घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अब तत्कालै लागु गरिने बताउदै शुशासन कायम गर्न, भ्रष्टाचार, तस्करी नियन्त्रण गर्न सरकार सफल भएको बताउनु भयो ।
यस्तै क्युपेक केन्द्रिय सचिव योगेन्द्र शर्माले असङ्गठित क्षेत्रका मजदुरहरुलाई सामाजिक सुरक्षा ऐनले समेट्न नसकेको बताउदै सबैको पेशालाई मर्यादित बनाउन लागि परेको जानकारी दिनुभयो । विभिन्न क्षेत्रमा काम गर्दै आएका करिब २०० जना मजदुरहरु सहभागी भएको कार्यक्रमको सञ्चालन अखिल नेपाल ट्रेड युनियन महासंघ धादिङका अध्यक्ष बद्रि प्रसाद सुवेदीले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस