धादिङ १५ पौष
नेपाल मानव अधिकार बर्ष पुस्तक २०२० को वार्षिक पुर्व समीक्षा कार्यक्रम मंगलबार धादिङबेसीमा सम्पन्न भएको छ । धादिङ जिल्लामा भएको मानव अधिकार सम्बन्धी घटनाहरुको अवस्था र नेपाल मानव अधिकार वर्ष पुस्तकमा समेटिएका मानव अधिकारसँग सम्बन्धित विषयहरुमाथि छलफल भएको थियो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) ले आयोजना गरेको कार्यक्रममा इन्सेक धादिङका प्रतिनिधी सिताराम अधिकारीले नेपाल मानव अधिकार वर्ष पुस्तकमा समावेश गरिएको विषवस्तुमाथि जानकारी गराउनु भएको थियो । यस्तै कार्यक्रमका प्रमुख अतिथीसहायक प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले धादिङ जिल्लामा अझै पनि मानव अधिकारसँग सम्बन्धित कुराहरु व्यवहारमा लागु गर्न नसकिएको बताउनु भएको छ । साथै मानव अधिकारसँग सम्बन्धित घट्नाहरुमा बढी मात्रामा पीडित पक्षको समस्यालाई नियाल्ने गरेकोले पीडक पक्षको बारेमा पनि बुझनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
मानव अधिकारसँग सम्बन्धित विषयहरुमाथि आम जनमानसमा अझै ज्ञान नभएकोले मानव अधिकारसँग सम्बन्धित घट्नाहरु बढेको बताउनु भएको छ । त्यस्तै अपङग कल्याण संघ धादिङका अध्यक्ष गुणराज थपलियाले अपाङगता भएका व्यक्तिहरुको मनमा ठेस पुग्ने परम्परागत शव्दहरु प्रयोग गरी बोलाउने बानीलाई परिवर्तन गर्न आग्रह गर्नु भएको छ । कार्यक्रममा सहभागिहरुले धादिङ जिल्लामा भएका मानव अधिकारका घट्नाहरुको बारेमा जानकारी गराएका थिए । सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा, प्रहरी नायब उपरीक्षक रुपक खड्का, नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष नवराज छत्कुली, नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका पुर्व अध्यक्ष सिताराम प्रसाद बर्मा, मानव अधिकारकर्मीहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस