धादिङ १५ पौष
धादिङ हेल्थ केयर प्रा.लि ले मंगलबार धादिङबेशीमा वृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तसंचार सेवा केन्द्र धादिङ शाखाको प्राविधिक सहयोग तथा धादिङ सोसियल भोलेन्टियर नेपाल र सहारा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड नीलकण्ठ धादिङको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । शान्तबजारस्थित धादिङ हेल्थ केयर प्रा.लिको प्राङगणमा विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको रक्तदान कार्यक्रमा १२ जना महिला र १३ जना पुरुष गरी २५ जना रक्तदाताहरुले रक्तदान गरेको धादिङ सोसियल भोलेन्टियरका अध्यक्ष नारायण कुमार श्रेष्ठले बताउनु भयो ।
काठमाडौँ लगायत देश भर भैरहेको रगतको अभावलाई न्युनीकरण गर्ने उद्धेश्यले रक्त संचार सेवा केन्द्र धादिङले विभिन्न ठाउँहरुमा वृहत खुल्ला रक्तदान कार्यक्रम संचालन गर्दै आएको छ । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङले आर्थिक वर्ष ०७६ र०७७ मा ३ हजार ५ सय पिन्ट रगत सङ्कलन गरी घाइते तथा बिरामीहरुलाई सहज रुपमा उपलब्ध गराउने लक्ष्य रहेको श्रेष्ठले बताउनु भयो ।
यसै गरी रक्तदान कार्यक्रमकै अवसरमा धादिङ हेल्थ केयर प्रा.लि ले निःशुल्क स्वास्थ्य शिविर समेत सम्पन्न गरेको छ । निःशुल्क स्वास्थ्य शिविरमा मुटु रोगी, हाडजोर्नी, छालारोगी, हड्डी र स्त्री रोगका १ सय ८३ जना विरामीहरुलाई विशेषज्ञ डाक्टरहरुद्धारा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा, निशुल्क सुगर जाँच र निशुल्क औषधि वितरण गरिएको धादिङ हेल्थ केयर प्रा.लिका अध्यक्ष प्रेमराज फुयाँलले जानकारी दिनुभयो । शिविरमा ४४ जनाले भिडियो एक्सेरे, ३३ जनाले ईसिजि, १ सय ३ जनाको निःशुल्क सुगर जाच सहित ल्याव परीक्षण, ईको र एक्से–रे मार्फत सेवा प्रदान गरिएको फुयाँलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस