धादिङ, बैशाख १७
विश्वमै सबै भन्दा नसर्ने रोगहरुको प्रकोप बढ्नुको साथै ६० प्रतिशत नेपालीको मृत्यु नसर्ने रोगबाट हुने गरेको आज स्वास्थ्य कार्यालयमा आयोजित अभिमूखीकरण कार्यक्रममा बताइएको छ । स्थानीय तह र स्वास्थ्य कार्यालयको काम, कर्तव्य र अधिकारका साथै सर्ने र नसर्ने रोग सम्बन्धी अभिमूखीकरण कार्यक्रमको सहजीकरण गर्दै स्वास्थ्य कार्यालय धादिङका निमित्त स्वास्थ्य प्रमुख विष्णु प्रसाद रिजालले सो कुरा बताउनुभयो । जिल्ला जनस्वास्थ्य कार्यालयको नाममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट सञ्चालित स्वास्थ्य कार्यालय धादिङ संघीय संरचनासँगै प्रदेश नं. ३ सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य कार्यालयको रुपमा जिल्लामा रहने छ । कार्यक्रममा प्रमुख रिजालले स्वास्थ्य कार्यालयले गर्ने काम, कर्तव्य र अधिकारको बारेमा जानकारी दिदै संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्ने, तालिम गोष्ठी, निःशुल्क औषधी वितरण, भ्याक्सिन, सचेतना कार्यक्रम, महामारी नियन्त्रण, स्थानीय तहलाई औषधी व्यवस्थापन लगायतका काम गर्ने बताउनु भयो । यस्तै खोप सेवा, उपचार सेवा, परिवार नियोजन, क्षयरोग, कुष्ठरोग नियन्त्रण लगायतका कार्य पनि स्वास्थ्य कार्यालयले गर्ने छ ।
यस्तै कार्यक्रममा हाल सबैभन्दा नसर्ने रोगको प्रकोप देखिएको भन्दै हरेक ४ मृत्युमा एक जना मुटु रोगका कारण भएको पनि बताइएको थियो । यस्तै २२ प्रतिशत नेपालीहरुको अल्पायुमै मृत्यु हुने र कुल मृत्युको ६० प्रतिशत नसर्ने रोगका कारण हुने पनि बताइयो । यस्तै सुर्तीजन्य पदार्थको सेवन, मदिरा सेवन, अधिक मात्रामा नुनको प्रयोग, अस्वस्थकर खानपान, जीवनशैली आदिका कारण पनि मुटु, क्यान्सर, श्वासप्रश्वास, मधुमेह जस्ता रोगहरु लाग्ने बताउदै मौसम अनुसार विभिन्न सरुवा रोगहरु लाग्ने भएकाले सफा पानी, ताजा खानेकुरा आदिमा सचेत रहन पनि आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस