धादिङ १३ पौष
खेलकुद क्षेत्रलाई अगाडि बढाउन स्थानीय सरकार र प्रदेश सरकारसँग समन्वय गरी अगाडि बढ्नु पर्ने नीलकण्ठ नगरपालिका धादिङका उप प्रमुख मनराज भण्डारीले बताउनु भएको छ । खेलकुद क्षेत्रको विकासलाई नीलकण्ठ नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउँदै भण्डारीले जिल्ला स्थित कर्भड हललाई बहुउद्देश्यीय कर्भड हलको रुपमा स्थापना गर्नु पर्नेमा जोड दिनु भयो । राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ राष्ट्रिय तेक्वान्दो संघ जिल्ला कार्य समिति धादिङले पुस ११ देखि सञ्चालन गरेको प्रथम जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता २०७६ को समापन समारोहमा बोल्दै भण्डारीले सो कुरा बताउनु भएको हो ।
प्रतियोगितामा १४ स्वर्ण, ११ रजत र ३३ कास्य सहित एडभान्स एकेडेमी तेक्वान्दो डोजाङ प्रथम, ७ स्वर्ण, १२ रजत, १७ कास्य सहित धादिङ बोर्डिङ डोजाङ द्धितीय, ७ स्वर्ण, २ रजत र १ कास्य सहित युनिटी तेक्वान्दो डोजाङ तृतीय र ३ स्वर्ण, ३ रजत र ५ कास्य सहित चिल्ड्रेन पार्क तेक्वान्दो डोजाङ सान्त्वना भएका छन् । यसै गरी उत्कृष्ठ खेलाडीहरुमा धुनिवेसी तेक्वान्दो डोजाङकी स्नेहा गुरुङ र किसन गिरी रहेका छन् ।
विजयी खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाण पत्रद्धारा पुरस्कृत गरिएको थियो । गणेश कुमार श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा नीलकण्ठ नगरपालिका धादिङका उप–प्रमुख मनराज भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति धादिङका कार्यालय प्रमुख कृष्णलाल श्रेष्ठ, धादिङ इसाई समाज धादिङका अध्यक्ष बेदबहादुर तामाङ लगायत खेलप्रेमी खेलाडीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस