धादिङ ११ पौष
नेपाल सरकारले प्रत्येक जिल्लामा अन्तराष्ट्रिय स्तरको खेल खेल्न मिल्ने पुर्वाधार तयार गर्न लागेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले बताउनु भयो । धादिङ जिल्ला स्थित कर्भड हलको मर्मत तथा संभार कार्यमा आफुले बजेट विनियोजन गर्ने र खेलकुद जगतलाई सधै सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । स्थानीय सरकार र प्रदेश सरकारसँग समन्वय गरी अगाडि बढ्न सके खेलकुद क्षेत्रको विकास हुने सिलवालको भनाई छ । धादिङस्थित विभिन्न खेलप्रेमी संघ संस्थाहरुले शुक्रबार धादिङबेसी स्थित कर्भड हलमा आयोजना गरेको १३ औँ साग खेलकुद २०७६ मा सहभागी खेलाडीहरुलाई सम्मान तथा राष्ट्रिय तेक्वान्दो संघ धादिङको आयोजनामा भएको प्रथम जिल्ला स्तरीय तेक्वादो प्रतियोगिता २०७६ को उद्घाटन समारोहमा बोल्दै सिलवालले सो कुरा बताउनुभएको हो ।
यसै गरी राष्ट्रिय तेक्वान्दो संघ नेपालका केन्द्रीय महासचिव राजकुमार कार्कीले खेलकुद जगतको विकास गर्न सिन्डीकेटको आवश्यक रहेको बताउनु भयो । १३ औँ साग गेममा धादिङबाट सहभागी भई विजेता खेलाडीहरुमासन्तोषी श्रेष्ठ (दौड), सोनी गुरुङ, ट्राइथलन) र सञ्जिला तिमल्सिना (तेक्वान्दो)ले स्वर्ण पदक प्राप्त गर्नुभएको थियो । यसैगरी गणेश प्रधान(वक्सिङ), आशिष दुवाडी (वक्सिङ) र लक्ष्मण मल्ल(ट्राइथलन)ले रजत पदक तथा दिपक अधिकारी(दौड), हरि रिमाल(दौड) र पवन श्रेष्ठ(जुडो)ले कास्य पदक प्राप्त गर्नुभएको थियो । विजेता र सागमा सहभागीहरुलाई समेत सम्मान र नगद पाँच हजार प्रदान गरिएको थियो । धादिङबाट साग खेलकुदमा ३ स्वर्ण पदक सहित ९ जनाले पदक प्राप्त गरेका थिए ।
राष्ट्रिय तेक्वान्दो संघ धादिङले शुक्रबारबाट दुइ दिने जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता समेत सुरु गरेको छ । तेक्वान्दोमा सात वटा टिम सहभागी भएका छन् । राष्ट्रको लागि खेलकुद , स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको हो । कार्यक्रमका संयोजक गणेश कुमार श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रदेश नं ३ का सांसद डा.रामकुमार अधिकारी, राष्ट्रिय तेक्वान्दो संघ नेपालका केन्द्रीय महासचिव राजकुमार कार्की, नीलकण्ठ नगरपालिका धादिङका उप प्रमुख मनराज भण्डारी, धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री, जिल्ला ब्याटमिन्टन संघ धादिङका अध्यक्ष विष्णु कुमार श्रेष्ठ, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत खेलप्रेमी खेलाडीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस