धादिङ ११ पौष
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङले शुक्रबार प्रतिकार्य संयन्त्र कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । जिल्ला शाखा धादिङका सभापति सीताराम कोइरालाको सभापतित्व रहेको कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा, गजुरी गाउँ पालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत, नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारी, त्रिपुरा सुन्दरी गाउँ पालिकाकी उपाध्यक्ष देवी पाण्डे बुर्लाकोटी, नेत्रावती डबजोङ गाउँ पालिकाकी उपाध्यक्ष उर्मिला तामाङ, रेडक्रस सोसाइटीका केन्द्रीय प्रतिनिधि शेर बहादुर कार्की लगायत विभिन्न स्थानीय तहका जनप्रतिनिधि, संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐन, २०७४ मा रहेका प्राबधानहरुका बारेमा सहभागीहरुलाई जानकारी दिनुभयो । यस्तै प्रमुख अतिथि जगन्नाथ नेपालले विपद व्यवस्थापनमा स्थानीय तहलाई चलायमान बनाउनुपर्ने बताउदै विपद व्यवस्थापनका लागि स्थानीय तहले उचित कार्ययोजना निर्माण गरी आवश्यक बजेटको समेत व्यवस्थापन गर्न आग्रह गर्नुभयो । यस्तै रेडक्रसका केन्द्रीय प्रतिनिधि शेर बहादुर कार्कीले १ सय ९२ राष्ट्रमा रेडक्रसको गतिविधि सञ्चालन भएको बताउदै प्राकृतिक र गैर प्राकृतिक विभिन्न खाले विपद व्यवस्थापन र न्युनीकरणमा रेडक्रसको मूख्य भूमिका रहेको बताउनु भयो । यस्तै गजुरी गाउँ पालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले राजमार्ग क्षेत्रमा दिनहुजसो हुने विभिन्न खाले दुर्घटना र विपद व्यवस्थापनमा निकै नै चुनौति देखिएकाले त्यसको व्यवस्थापन गर्न गाउँ पालिकाले आवश्यक बजेट विनियोजन गर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस