धादिङ पौष ९
उदय लामिछाने मगर
पञ्चकन्या माध्यमिक विद्यालय नीलकण्ठ ५ खाल्टे फ्याक्सेको ४३ औँ वार्षिक उत्सव तथा अभिभावक भेला बुधबार सम्पन्न भएको छ । प्रदेश सांसद डा. राम कुमार अधिकारीको प्रमुख आतिथ्यता तथा नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारीको विशेष आतिथ्यतामा सम्पन्न उत्सवमा विभिन्न राजनैतिक दलका स्थानीय प्रतिनिधिहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरुका साथै स्थानीय समाजसेवीहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रहसन, नृत्य, गायन मार्फत दर्शकहरुलाई भरपुर मनोरञ्जन गराएका थिए ।
वार्षिक उत्सवकै अवसर पारी यही पौष ६ देखि ९ गतेसम्म सञ्चालन गरिएको खेलकुद कार्यक्रमको पनि समापन गरिएको थियो । यस्तै उत्सवकै अवसर पारी अन्तर विद्यालय स्तरीय छात्र तथा छात्रा भलिबल प्रतियोगिताको समेत आयोजना गरिएको थियो । प्रतियोगिताको छात्रातर्फ कालिका आधारभूत विद्यालय प्रथम, पञ्चकन्या माध्यमिक विद्यालय द्धितीय, र प्रकाश माध्यमिक विद्यालय तृतीय भएका छन् । छात्रतर्फ भने कालिका आधारभूत विद्यालय प्रथम, प्रकाश माध्यमिक विद्यालय द्धितीय र पञ्चकन्या माध्यमिक विद्यालय तृतीय भएका छन् । प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई नगद, प्रमाणपत्र, ट्रफी र मेडल प्रदान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अधिकारीले शिक्षाको विकास विना समाजको विकास असम्भव रहेको भन्दै पञ्चकन्या माध्यमिक विद्यालयको उन्नति र प्रगतिको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । प्रतियोगितामा समाजसेवी कमल जम्कट्टेल लगायतले विद्यालयमा सञ्चालन भइरहेको कक्षा ११/१२ लाग सहयोगार्थ नगद तथा चेक हस्तान्तरण गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस