धादिङ ०६ पुस
बृहत खुल्ला रक्तदान कार्यक्रम इसाई धर्मावलम्वीहरुको महान् पर्व ख्रिष्टमसको पूर्वसन्ध्यामा आइतबार धादिङबेसीमा शुभकामना आदान प्रदान तथा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्थानीय मण्डली र धादिङ पिशोन संयुक्त प्रार्थना संगति धादिङको संयुक्त आयोजनामा भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारीको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै उप प्रमुख भण्डारीले देश धर्म निरपेक्ष भएपछि सबै धर्मावलम्बीहरु स्वतन्त्र भएकाले एक धर्मले अर्को धर्मको सम्मान गर्नुपर्ने बताउनु भयो । यस्तै इसाई धर्मावलम्बीहरुको मृत्यु संस्कारका लागि चिहान घरको व्यवस्थापनका लागि नगरपालिकाको हिउदे अधिवेशनमा आफूले प्रस्ताव लाने समेत बताउनु भयो । कार्यक्रममा धादिङ सोसियल भोलिन्टिएर नेपालका अध्यक्ष नारायण कुमार श्रेष्ठ संयुक्त एम्बुलेन्स चालक समाज धादिङका अध्यक्ष भेषराज ठकुरी रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्मा, रेडियो बिहानीका स्टेशन म्यानेजर सञ्जय देवकोटा लगायतको आतिथ्यता रहेको थियो ।
सोही कार्यक्रमको अवसरमा भएको बृहत खुल्ला रक्तदान कार्यक्रममा २७ औँ पटक रक्तदान गरेका भण्डारीले धादिङका बिरामीहरुलाई निःशुल्क रगत उपलब्ध गराउन पहल गर्ने समेत बताउनु भयो । रक्तदान कार्यक्रममा ३७ जना महिला र ६४ जना पुरुष गरी १ सय १ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रक्तदान कार्यक्रममा धादिङ आल्मुनियम उद्योग धादिङ, मिशन होटल एण्ड रिसोर्ट प्रा.लि.र धादिङ सोसियल भोलेन्टियर नेपाल धादिङले सहयोग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस