धादिङ ०५ पुस
सरसफाई अभियानले मात्र फोहोर मैला व्यवस्थापन र नदीनाला सफाई अभियान पूर्ण रुपमा सफल नहुने नीलकण्ठ नगरपालिका धादिङका प्रमुख प्रशासकीय अधिकृत तिर्थराज पौडेलले बताउनु भएको छ । सरसफाई कार्यमा नीलकण्ठ नगरपालिकाले मात्र नभई स्थानीय जनप्रतिनिधिहरु र सम्पूर्ण नागरिकहरु पनि सचेत हुनुपर्ने उहाँको भनाई रहेको छ । थोपल खोलाको सरसफाई र संरक्षण गर्ने उद्देश्यले शनिबारदेखि सुरु भएको अभियानमा नीलकण्ठ नगरपालिका धादिङका प्रमुख प्रशासकीय अधिकृत तिर्थराज पौडेलले खोलाको सरसफाई गरेर अभियान शुभारम्भ गर्नु भएको हो । प्रत्यक हप्ताको शनिबार सरसफाईका साथै नीलकण्ठ नगपालिका आसपासका खोलाहरु संरक्षण गर्ने कार्यलाई तीव्रता दिने पौडेलको भनाई छ । शनिबार धादिङको पुछार बजारस्थित आँसी खोला, थोपल खोला र अरुण खोलाको सरसफाई अभियानमा सहभागीता जनाउँदै पौडेलले सो कुरा बताउनु भएको हो ।
बजार क्षेत्रको सरसफाई गर्न नीलकण्ठ नगरपालिकाले नियमित रुपमा फोहोर उठाउने कार्य गरेता पनि फोहोर ब्यबस्थापन हुन नसकेको नीलकण्ठ नगरपालिका धादिङका स्वास्थ्य संयोजक विष्णु रिजालले बताउनु भयो । धादिङ सोसियल भोलेन्टियरका अध्यक्ष नाराायण कुमार श्रेष्ठले सरसफाई अभियान शुरु गर्नु भन्दा फोहोरको मुख्य स्रोत पहिचान गर्न आवश्यक रहेको बताउनु भयो । सरसफाई अभियानमा नीलकण्ठ नगपालिका, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, टोल सुधार महासमिति, धादिङ उद्योग वाणिज्य सघं, धादिङ सोसियल भोलेन्टियर नेपाल, नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखा लगायतका संघ संस्थाहरुका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस