धादिङ ०४ पुस
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ७ मा गत आर्थिक बर्ष २०७५/०७६ मा सम्पन्न कार्यक्रमहरु र आर्थिक बर्ष २०७६/०७७ मा हुने कार्यक्रमहरुको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ७ को आयोजनामा संचालित सार्वजनिक सुनुवाई कार्यक्रममा रेडियो बिहानी र रेडियो धादिङले सहजीकरण गरेको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी स्थानीयले बुढी गण्डकी आयोजनाले खहरेका लाभग्राहीहरुलाई एकदमै न्युन मूल्य तोकेकाले कि मुआब्जा रकममा पुर्नविचार गर्नुपर्ने या जग्गा फुकुवा गर्नुपर्ने जोडदार माग गरेका थिए । यस्तै पालिका र वडाबाट विनियोजित बजेट र आयोजनाको अनुगमनकार्य प्रभावकारी नभएको, समयमै काम सम्पन्न नभएको, बजेट विनियोजन समानुपातिक नभएको जस्ता समस्याहरु राखेका थिए । सहभागीले राखेको समस्याको सम्बोधन गर्दै वडा अध्यक्ष देवराज धरेलले वडामा आएका बजेट र योजनाहरुको प्रभावकारी कार्यान्वयन गर्न आफूले विशेष पहल गरेको बताउदै यस वर्ष माघ मसान्तसम्म योजना सम्झौता गरेर काम सम्पन्न नगरे बजेट स्थानान्तरण गर्ने बताउनु भयो । यस्तै अबको १ वर्ष भित्रमा आफ्नो वडाका सबै सडकहरु ग्राबेल गर्ने र आफ्नो कार्यकालभित्रमै कालोपत्रेको सुरुवात गर्ने समेत घोषणा गर्नु भयो । यस्तै गाउँ पालिकाकी उपाध्यक्ष देवी पाण्डे बुर्लाकोटीले वडामा आएका योजनाहरु सही तरिकाले सञ्चालन भएको छ कि छैन भन्ने कुराको अनुगमन स्थानीयहरुले नै गर्नुपर्ने बताउनु भयो ।
पालिकाका अध्यक्ष सम्भु कुमार थापाले बुढी गण्डकी आयोजनाले खहरे र आरुघाटका स्थानीयलाई अन्याय नै गरेकाले उक्त मुआब्जा रकमलाई पुर्नविचार गर्न आपूmले सक्दो पहल गरिरहेको जानकारी दिनुभयो । साथै पालिकाबाट प्रबाह भएको सेवा प्रभावकारी नभए आफूलाई जानकारी गराउन समेत आग्रह गर्नुभयो । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष देवराज धरेलको अध्यक्षता रहेको कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भु कुमार थापाको प्रमुख आतिथ्यता तथा त्रिपुरासुन्दरी गाउँपालिकाका उपाध्यक्ष देवी पाण्डे बुर्लाकोटीको विशेष आतिथ्यता रहेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका स्वास्थ्य संयोजक याम बहादुर श्रेष्ठ लगायत पालिकाका शिक्षा, कृषि, पशु शाखाका प्रमुख तथा प्रतिनिधिहरु, स्थानीय विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, वडास्थित विभिन्न योजनाका प्रतिनिधिहरु, स्थानीय बुद्धिजीवि, समाजसेवी, विभिन्न पार्टीका प्रतिनिधिहरु तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
त्रिपुरा सुन्दरी गाउँ पालिकाको आयोजना तथा रेडियो बिहानी र रेडियो धादिङको सहजीकरणमा सुरु भएको सार्वजनिक सुनुवाई कार्यक्रम त्रिपुरा सुन्दरी गाउँ पालिकाका ७ वटै वडामा र गाउँ पालिका स्तरीय २ वटा गरी ९ वटा (आवश्यकता अनुसार थप गर्न सकिने) हुनेछन् । जसमा गत आर्थिक वर्षमा सम्पन्न भएका योजनाहरुको प्रभावकारीता र चालु आर्थिक वर्षमा सञ्चालित योजनाहरुको अवस्था, गाउँ पालिकाले प्रवाह गर्ने सेवा सुविधा, जनप्रतिनिधिहरुको जनताप्रतिको उत्तरदायित्व जस्ता विषयमा जनताका गुनासा प्रत्यक्ष जनप्रतिनिधि र सम्बन्धित निकायबीच छलफल गरिने छ ।
प्रतिक्रिया दिनुहोस