धादिङ ०४ पुस
अपिल कोइराला
शैक्षिक क्षेत्रमा जिल्लाकै उत्कृष्ठ नतिजा ल्याउन सफल संस्थागत विद्यालय धादिङ बोर्डिङ स्कुलले यही पुस १ गते मङ्गलबारबाट वार्षिक कार्यक्रम अनुसार सुरु गरेको स्पोट्स फेस्टिभलको शुक्रबार एक कार्यक्रमका बीच समापन गरिएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल मर्मलाई आत्मसात गर्दै ४ दिनसम्म सञ्चालन भएको खेलकुद उत्सवमा कबड्डी, हाइजम्प, लङ्जम्प, रिले रेस, ग्रामर रेस, कक फाइट, फुटबल, भलिबल, व्याडमिन्टन, फुटसल, टेबल टेनिस, सियो धागो, चम्चा गुच्चा, म्युजिकल चियर, बेलुन ब्लास्टिङ, पुच्छर तानी लगायत ३० भन्दा बढी खेलहरुको आयोजना गरिएको थियो ।
कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा विभिन्न तह र सदनमा विभाजित गरी प्रतियोगितामा समावेश गरिएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षता रहेको समापन कार्यक्रममा गणेश हिमाल क्याम्पसका निर्देशक भुपेन्द्र कुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा गणेश हिमाल क्याम्पस सञ्चालक समिति अध्यक्ष गोविन्द कुमार श्रेष्ठ र न्यु धादिङ बोर्डिङ स्कुल व्यवस्थापन समिति अध्यक्ष कृष्ण प्रसाद दाहालको विशेष आतिथ्यताका साथै विद्यालयका प्रधानाध्यापक हरि लम्साल, शिक्षक, विद्यार्थी र अभिभावकहरुको उल्यख्य उपस्थिति रहेको थियो ।
सदनात्मक प्रतियोगितामा १ सय ५९ अङ्क सहित हरियो सदन हाउस अफ दि इयर सहित प्रथम, १ सय १ अङ्क सहित पहेलो सदन द्धितीय र ६५ अङ्क सहित रातो सदन तृतीय भएका थिए । यस्तै अनुशासित खेलाडीमा छात्रतर्फबाट रातो सदनका सगुन गुरुङ र छात्रातर्फबाट निलो सदनकी प्राप्ती सिंह कार्की उत्कृष्ठ भएका थिए । बेस्ट प्लेअरमा छात्र तर्फबाट हरियो सदनका तारा बहादुर गुरुङ र छात्रा तर्फबाट पहेलो सदनकी डोल्मा तामाङ उत्कृष्ठ भएका हुन् । कार्यक्रममा विभिन्न विधामा रहेका शिक्षकहरुलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो ।
विजयी विद्यार्थीहरुलाई मेडल र प्रमाणपत्र तथा उत्कृष्ठ हाउसलाई सिल्ड मेडल र प्रमाणपत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा मन्तव्य राख्दै विद्यालयका एजुकेटिभ डाइरेक्टर सुरेन्द्र शाहले विद्यार्थीहरुलाई पढाइमा मात्र नभइ शारीरिक, संवेगात्मक तथा सर्वाङ्गिण विकासको लागि खेलकुदको आयोजना गरेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस