कृष्ण बहादुर लामिछाने/गोरखा/बैशाख १५
सुरक्षित खानेपानी प्रयोग सम्बन्धी खानेपानी उपभोक्ताहरुसँग छलफल तथा अन्तरकृया कार्यक्रम तान्द्राङ स्वास्थ्य चौकी तान्द्राङ गोरखामा सम्पन्न भएको छ । भिमसेन थापा गाउँ पालिका गोरखाको स्वास्थ्य शाखाले गत चैत्र २१ गते गाउँ पालिकाभित्र बढी उपभोक्ताहरुले उपयोग गर्ने मुहानको पानी परीक्षण गर्दा वडा नं. २ को ओख्ले पधेरा, वडा नं. ३ को लाकुरीबोट खानेपानी र वडा नं. ६ को मालागेडी खानेपानीमा कोलिर्फमका जीवाणु देखिएकाले भिमसेन थापा गाउँ पालिका गोरखाको स्वास्थ्य शाखाको आयोजना र तान्द्राङ स्वास्थ्य चौकीको व्यवस्थापनमा लाकुरीबोट खानेपानी प्रयोग सम्बन्धी खानेपानी उपभोक्ताहरुसँग छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा पानीको प्रदुषण हुने मुख्य कारण दुषित पानीको प्रयोगले लाग्ने रोगहरु, पानीजन्य रोगको कारणबाट हुनसक्ने क्षति, पानीको स्रोत सुरक्षित राख्ने उपाय, पानीजन्य रोगबाट बच्ने उपाय, पानी शुद्धिकरण गर्न सिफारिस गरिएका वैज्ञानिक विधिबारे उपभोक्ताहरुलाई जानकारी गराइएको थियो । तान्द्राङ स्वास्थ्य चौकी प्रमुख शुसिला काप्रीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा भिमसेन थापा गाउँ पालिका स्वास्थ्य शाखाका संयोजकदोय भेशराज खनाल र कृष्ण अधिकारीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं. ३ का वडा अध्यक्ष लिलानाथ लामिछानेको अध्यक्षता रहेको कार्यक्रममा प्रशिक्षक भेषराज खनाल, कृष्ण अधिकारी लगायतको विशेष आतिथ्यता रहेको कार्यक्रममा स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्यहरु, लाकुरीबोट खानेपानीका उपभोक्ताहरु, स्वास्थ्यकर्मीहरु र पत्रकार समेतको उपस्थिति रहेको गोरखाबाट सहकर्मी कृष्ण बहादुर लामिछानेले जानकारी गराउनु भयो ।
प्रतिक्रिया दिनुहोस