धादिङ ०३ पुस
राज्यमा मौलाउदै गएको अनुशासनहीनता अराजकताका कारण नागरिक समाज र पत्रकार जगत चेपुवामा परेको धादिङका नागरिक अगुवाहरुले बताएका छन् । इन्सेक धाङिको आयोजनामा बिहिबार धादिङबेसीमा सम्पन्न भएको ‘पारस्परिक जवाफदेहीता परियोजना विकासको लागी नागरिक समाज तथा सञ्चार जगतबीचबो भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा नागरिक समाजका अगुवाहरुले सो कुरा बताएका हुन् । नागरिक समाज र सञ्चार जगतको समन्वयको अभावको कारणले विकास निमार्णका कार्यहरु थप ओझेलमा परेको सहभागीहरुले बताएका हुन् ।
विकास निमार्णको काममा हुने गरेको ढिलासुस्तीका समस्यालाई समाधान गर्न नागरिक समाज र सञ्चार जगतबीच सहकार्य र समन्वय हुन नसकेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका थिए । कार्यक्रममा नागरिक समाज र संचार जगतले अहिलेसम्म गरेका कामहरुको समीक्षा गर्दै आगामी दिनमा नागरिकको आवश्यकता र अधिकार प्राप्तीलाई विस्तारका लागी के गर्न सकिन्छ भन्ने विषयमा गहन अध्ययन गर्नपर्ने विषयमा जोड दिइएको थियो । सहभागीहरुले स्थानीय तहले लक्षित वर्गको बजेट निर्धारण र विनियोजन गर्दा वास्तविक लक्षित वर्गमा पुग्न नसकोको, यातायातका साधनहरुमा मनपर्दी भाडादरु कायम भएको, राजमार्ग क्षेत्रका होटलहरुको मनपर्दी मूल्य रोक्न नसकेको, बैंकहरुले भूकम्प पीडित तथा कृषकहरुलाई दिदै आएको सहुलियत कर्जा वास्तविक लाभग्राहीले प्राप्त गर्न नसकेको, महिला, अपाङ्ग, दलित, सिमान्तकृत लगायतका वर्गहरुलाई राज्यको मूल प्रवाहमा ल्याउने जस्ता विषयहरुमा नागरिक समाज र सञ्चारकर्मीहरुले गर्नुपर्ने पैरवीमा कमी देखिएको धारणा राखेका थिए ।
यस्तै सञ्चार जगतले गैर सरकारी संस्थाहरुले गरेका राम्रा र सकारात्मक काममा साझेदारी र गलत कामको खबरदारी गर्नुपर्ने बताइएको थियो । इन्सेक धादिङका प्रतिनिधि सीताराम अधिकारीले सहजीकरण गरेको कार्यक्रममा विभिन्न गैर सरकारी संस्थाका प्रमुख प्रतिनिधि, नागरिक समाजका अगुवा तथा जिल्लास्थित विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस