धादिङ ३० मङ्सिर
गैर सरकारी संस्था महासंघमा देखिएको समस्याको समाधान छलफल र वार्ताको माध्यमबाट गर्नु पर्ने जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले बताउनु भएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपालले धादिङका गैर सरकारी संस्थाहरु नाजुक अवस्थामा पुगेकाले यस संस्थालाई पारदर्शीता बनाउन अति आवश्यक रहेको बताएका छन् । गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा धादिङले सोमबार धादिङबेसीमा आयोजना गरेको १४ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्ने क्रममा नेपालले सो कुरा बताउनु भएको हो । यस्तै धादिङ जिल्लाका संघ संस्थाहरुको नवीकरण प्रक्रियामा जिल्ला प्रशासन कार्यालयले छिटो छरितो माध्यमबाट सेवा दिई रहेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनु भयो । स्थानीय सरकार र संघीय सरकार समक्ष समन्वय गरेर गैर सरकारी संस्था महासंघ अगाडि बढ्न आग्रह समेत गर्नु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै गैर सरकारी संस्था महासंघका ३ नं प्रदेशका अध्यक्ष दामोदर अर्यालले यस संस्था सरकारको विरोधी नभई सहयोगीको रुपमा स्थापना भएको र राज्यको हरेक गतिविधिमा सहयोग गर्न तयार रहेको बताउनु भयो । २०७२ साल बैशाख १२ गतेको महाभूकम्पपछि धादिङका गैर सरकारी संस्थाहरुले गरेको सहयोगको मूल्याङ्कन गर्न सम्बन्धित निकायहरुलाई आग्रह समेत गर्नु भयो । गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा धादिङका अध्यक्ष एकराज छत्कुलीको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय सदस्य गोकर्ण रुपाखेती, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, गैर सरकारी संस्था महासंघका ३ नं प्रदेशका अध्यक्ष दामोदर अर्याल, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधहरु, संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । गैर सरकारी संस्था महासंघ जिल्ला शाखा धादिङका सचिव शालिग्राम दुवाडीले वार्षिक प्रतिवेदन, र कोषध्यक्ष शेर बहादुर तामाङले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमका सहभागीहरुले सरकार र गैर सरकारी संस्था महासंघ फरक–फरक बाटोमा हिडिरहेको प्रति आपत्ति जनाएका थिए । कार्यक्रमकै अवसर पारी धादिङ प्रहरी प्रमुखको रुपमा आउनु भएका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीलाई स्वागत समेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस