धादिङ २२ फागुन
धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ३ स्थितमा प्रहरी चौकी सेमजोङको भवन उद्घाटन भएको छ ।
बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री सुरेशचन्द्र लामिछाने र बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्माको विशेष उपस्थितीमा नवनिर्मित कार्यालय,ब्यारेक,मेश सहितको भवन उद्घाटन गर्नुभएको हो ।
बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले बिनियोजन गरेको ७१ प्रहरी संरचनाहरुको निर्माण, मर्मत सम्भार गरि हालसम्म ६८ वटा प्रहरी ईकाइहरुको निर्माण सम्पन्न भई समुद्घाटन समेत भएको तथा ३ वटा निर्माणाधीन अवस्थामा रहेको आन्तरिक मामिला तथा कानून मन्त्री लामिछानेले बताउनुभयो । उहाँले शान्ति सुरक्षा अमनचयन कायम गर्न प्रहरीलाई आग्रह गर्नुभयो,गाउँपालिकाको न्यानो आतिथ्यता र मायाकोलागि नेत्रावती डबजोङ गाउँपालिकालाई धन्यवाद व्यक्त गर्नुभयो । मन्त्री लामिछानेले नेत्रावती डबजोङ गाउँपालिकाको बिकासको लागि आवश्यक बजेट प्रबन्ध मिलाउने विश्वास व्यक्त गर्नुभयो ।
बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले दुई चरणमा बजेट विनियोजन गरि १ करोड ६४ लाख ३१ हजार २ सय ४१ को लागतमा प्रहरी चौकी सेमजोङको भौतिक संरचनाको निर्माण सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले जानकारी दिनुभयो ।
नवनिर्मित भवनको भुई तल्लामा कार्यालय प्रमूख कक्ष, छुट्टाछुट्टै शौचलय सुविधा सहितको छुट्टाछुट्टै महिला÷पुरुष हिरासत कक्ष र गार्ड रुम सहित ४ वटा कोठाहरू सहित बनेको भवन १ सय १५ बर्गमिटरमा ब्यवस्थापन गरीएको छ, भवनको पहिलो तल्लामा छुट्टा छुट्टै शौचालय सुविधा सहित महिला व्यारेक १ वटा, पुरुष ब्यारेक २ वटा र मनोरञ्जन कक्षा समेत रहेको छ ।
उक्त उद्घाटन कार्यक्रममा नेत्रावती डबजोङ गाउँपालिका अध्यक्ष मेघनाथ रिजाल, निमित्त प्रमुख जिल्ला अधिकारी मोहन न्यौपाने, जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र शाही, नेत्रावती डबजोङ गाउँ पालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुरेश वाईवा तामाङ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
भवन उद्घाटनसंगै प्रहरी चौकी सेमजोङबाट सेवा समेत सुरु भएको छ । ११ वर्षअघि नेत्रावती डबजोङ गाउँपालिका साविकको सेमजोङ गाविसमा शान्ति सुरक्षा अमनचयन कायम गर्न प्रहरी चौकी सेमजोङको स्थापना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस