धादिङ १९ फागुन
धादिङको बेनिघाट रोराङ गाउँपालिकाले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा गाउँपालिकासंग महिलाका कुरा विषयमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
हरेक वर्ष फागुन २४ गते मनाईने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा फागुन २१ गते बेनीघाट रोराङ गाउँपालिकाको कार्यालय प्राङ्गणमा कार्यक्रम गरिने भएको गाउँपालिकाले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।
उक्त सूचनामार्फत अन्तरक्रिया कार्यक्रमको विषयवस्तु तथा छलफल र विमर्शको ढाँचा सार्वजनिक समेत गरेको छ । सुचनामा उल्लेख गरे अनुसार अन्तरक्रिया कार्यक्रममा महिला र बालिकाको हक, अधिकार, समानता र सशक्तीकरण सम्बन्धमा ईच्छुक सहभागीले पालिका र समाजका लागि आफ्ना राय, सुझाव राख्ने,लैङ्गिक विभेद, सङ्घर्ष झेल्दै जीवनमा सफलता हाँसिल गरेका प्रेरक प्रसंग, सफलताका निजी कथा र प्रेरणात्मक भोगाई राख्ने, किशोर किशोरीले पछिल्लो ५ वर्षमा आफ्नो वरिपरि लैङ्गिक सवालमा भोगेका देखेका सकारात्मक भोगाई राख्ने र दलित महिला सदस्यले आफू निर्वाचित भए पश्चात् निजी र सामाजिक जीवनमा ल्याउन सकेको सकारात्मक परिवर्तनबारे चर्चा गरिने लगायतका कार्यतालिका रहेको छ ।
गाउँपालिकाले उक्त अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधी समाजसेवी, राजनीतिक दल, सामाजिक अगुवा, शीर्षस्थ नेतृत्व, आमा समूह, महिला सहकारी, स्वास्थ्य आमा समूह, गैह्र सरकारी संस्था, माध्यमिक विद्यालय लगायत ईच्छुक सबैमा सहभागीताको लागि आग्रह समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस