धादिङ १८ फागुन
बेनिघाटरोराङ गाउँपालिकामा किशोरीहरुको लागि महिनावारी स्वच्छता सम्बन्धि तालिम सम्पन्न भएको छ ।
शनिबार एक कार्यक्रमको आयोजना गरी बेनिघाटरोराङ गाउँपालिकाका वडा नं ६, ८ र १० मा अवस्थित पञ्चकन्या माध्यमिक विद्यालय, कालिका राष्ट्रिय माध्यमिक विद्यालय र गोईराङ आधारभुत बिद्यालयमा अध्ययनरत ३ सय ९९ जना किशोरीहरुलाई विद्यालय १ दिने महिनावारी स्वच्छता सम्बन्धि तालिम प्रदान गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले रेडियो बिहानीलाई बताउनुभयो ।
तालिमका साथ साथै बालिकाहरुलाई स्वछता सामाग्री सहितको टोट झोला तथा सोलार लाईट, पोशाक, स्कुल व्याग र शैक्षिक सामग्री समेत हस्तान्तरण गरिएको थियो ।
शैक्षिक सामग्रीको अभाव तथा महिनावारी भएको समयमा विद्यालयमा स्वच्छता सामग्रीको अभावका कारणले विद्यालयमा नियमितता हुन नसक्ने समस्यामा बालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न महिनावारी स्वच्छता तथा शैक्षिक सामाग्री र पोशाक सहयोग गरिएको प्रयास नेपाल धादिङका अध्यक्ष वीर बहादुर श्रेष्ठले बताउनु भयो ।
यसको अलवा महिनावारी स्वच्छताको कारण किशोरीहरुमा हुने समस्या तथा समाधानका बारेमा ज्ञानको कमि र सामग्रीको अभावबाट शारीरिक तथा मानसिक असर नपरोस् भन्ने सोचका साथ विद्यालयसँगको समन्वयमा तालिम सहित सामाग्री सहयोग गरिएको पनि अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
चाइल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले शिक्षामा पहुँच सुनिश्चितता परियोजना अन्तर्गत प्रदान गरिएको स्वच्छता तथा शैक्षिक सामाग्री सहयोगले बालिकालाई विद्यालयमा नियमितता हुन प्रेरित गर्नका साथै उनीहरूको पठनपाठनलाई थप सहज बनाउने प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो ।
बालबालिकाको भविष्य उज्यालो बनाउन प्रयास नेपाल धादिङ निरन्तर क्रियाशील रहेको पनि अर्यालले बताउनुभयो।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा बेनिघाटरोराङ गाउँपालिका वडा नं ६ का वडाध्यक्ष टेकनाथ सिलवाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर मगर, प्रयास नेपाल धादिङका निवर्तमान अध्यक्ष रेष्टन कडेल, चाईल्ड फण्ड जापानका एरिया म्यानेजर दल बहादुर सुनार, डि.एस अफिसर श्रीकान्त लुइँटेल लगायत राष्ट्रिय, कालिका र पञ्चकन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा अभिभावकहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमकमा प्रधानाध्यापक गणेश अर्याल, कालिका माविका सहायक प्रधानाध्यापक प्रकाश गुरुङ र पञ्चकन्या माध्यामिक विद्यालयका प्रधानाध्यापक कृष्ण सिलवाल, वडाध्यक्ष टेकनाथ सिलवाल लगायतले शैक्षिक सामग्रीको उपलब्धताले बालिकाको पढाइमा सहजता ल्याउने र विद्यालय प्रतिको आकर्षण बढ्ने बताउनु भएको थियो ।
“बालबालिकाले पढ्न र सिक्न चाहन्छन् तर, स्वच्छता तथा शैक्षिक सामग्रीको अभावर बिद्धुत गई रहने कारणले पढ्न समस्याले उनीहरूको यो चाहना धेरैपटक अधुरो रहेको अवस्थामा गरिएको यो सोलार लाईट तथा शैक्षिक सामाग्री सहयोगले उनीहरूको पढाइलाई निरन्तरता दिन ठूलो सहयोग पुर्याउने पनि प्रधानाध्यापक तथा वडाध्यक्षले भनाइ रहेको छ ।
बालबालिकाहरूको उज्ज्वल भविष्य निर्माणका लागि यस प्रकारका सहयोग कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
शैक्षिक सामग्री वितरणको क्रममा बालबालिकाको उत्साह र खुशी देखेर आफूहरू अझ बढी प्रेरित भएको कार्यकारी निर्देशक अर्यालले बताउनुभयो ।
बालबालिकाको शिक्षा, बाल अधिकार र समग्र शैक्षिक ,मानसिक र बौद्धिक विकासका लागि बालमैत्री कक्षा कोठा व्यवस्थापन ,अभिभावक शिक्षा ,बाल विकास शिक्षक सहित १९ बिद्यालयका सबै शिक्षकलाई बालमैत्री शिक्षण सम्बन्धि तालिम, पुस्तकालय, विज्ञान प्रयोगशाला, सिकाई केन्द्र भवन, शौचालय निर्माण, बालक्लब गठन, परिचालन, अतिरिक्त कक्षा संचालन लगायतका बालबालिका केन्द्रित कार्य गर्दै आईरहेको प्रयास नेपाल धादिङले यस अघि पनि वडा नं ६, ८, र १० का विभिन्न विद्यालयमा अध्ययनरत १ हजार १ सय ५ जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग प्रदान गरिएको फिल्ड कार्यक्रम अधिकृत सुरज श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस