धादिङ १६ फागुन
धादिङमा बागमती प्रदेश स्तरीय पहिलो साहित्य महोत्सव सुरु भएको छ ।
शुक्रबार बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीको अध्यक्षतामा सुरु भएको उक्त महोत्सवको बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले उद्घाटन गर्नुभएको हो ।
बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना र नीलकण्ठ प्रज्ञा प्रतिष्ठान र नीलकण्ठ नगरपालिका सहआयोजना तथा स्थानीय स्तरका सामाजिक संघसंस्थाहरुको सहजीकरणमा दुई दिने बागमति प्रदेश स्तरीय साहित्य महोत्सबको शुक्रबार उद्घाटन गरिएको हो ।
महोत्सवको उद्धघाटन समारोहलाई सम्बोधन गर्नुहुदै बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले साहित्य मानव समाजको ऐना भएकोले न्याय, चेतना परिवर्तन र रुपान्तरणको उत्प्रेरणा भएको बताउनुभएको छ ।
उहाँले साहित्य र कला, खुसी र समृद्ध जीवनको आधार भएको उल्लेख गर्दै मानव मानव बीचका द्वन्दहरु घटाएर प्रेम, मानवता, एकता र सौहार्दताको बीजारोपण गर्ने महत्वपूर्ण विधा भएको बताउनुभएको छ ।
उहाँले साहित्य मानव मष्तिष्कको उपजको रुपमा उल्लेख गर्दै प्रदेश प्रमुख देवकोटाले साहित्य लेखनमात्र नभएर भावना, संवेदनासमेत भएको र साहित्यले कला, संस्कृति, मूल््य, मान्यता र सभ्यतालाई छर्लङ्ग पार्ने बताउनुभयो ।
त्यसैगरि संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले शुभकामना व्यक्त गर्दै साहित्यले सम्राटहरुलाई समेत नाङ्गो पार्ने शक्ति हुने भएकोले सहत्यको संरक्षण र प्रवर्धनमा सघाउने बताउनुभयो ।
त्यस्तै बागमती प्रदेश सांसद गोबिन्द लम्साल, नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगाना, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारी, नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बद्री प्रसाद दाहाल, नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक कोइराला, महोत्सव व्यवस्थापन तथा सहजीकरण समितिका अध्यक्ष विष्णु आचार्य लगायतले भाषा, साहित्य कला, संस्कृतिको जगेर्ना गर्न प्रदेश सरकारले विधागत रुपमा सघाउनु पर्ने र स्थानीय सरकारले समेत लगानी गरेर पठन र अध्ययन संस्कृतिको विकासमा योगदान गर्नुपर्ने बताउनुभएको छ ।
धादिङबेसी पुछारबजारबाट तामाङ, नेवार, लगायतका संस्कृतिक झाँकी सहितको र्यालीले बजार परिक्रमा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस