धादिङ १६ फागुन
उत्तरी धादिङको गंगाजमुना गाउँपालिका र खनियावास गाउँपालिकामा गाउँपालिकाको योजना तर्जुमा प्रक्रिया सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ ।
बिहीबार खनियावास गाउँपालिकाको झार्लाङ र गंगाजमुना गाउँपालिकाको तावलमा सम्पन्न भएको हो ।
झार्लाङमा भएको तालिममा खनियाबास गाउँपालिका वडा नं १ वडा अध्यक्ष करुण कुमार पाख्रीनको आतिथ्यता रहेको थियोे । यसैगरी तावलमा भएको कार्यक्रममा गंगाजमुना गाउँपालिका वडा नं २ वडाध्यक्ष बल बहादुर तामाङको आतिथ्यता रहेको थियो ।
झार्लाङमा भएको तालिममा १६ वटा कृषक समुहका अगुवा, ३ लैगिक च्याम्पियनहरु सहित २५ जना र तावलमा भएको तालिममा १८ जनाको सहभागीता रहेको थियो ।
प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारीतामा खनियावासमा र गंगाजमुना गाउँपालिकामा संचालित कार्यक्रममा रिलिफ परियोजनाको सहयोग रहेको थियो ।
परियोजनाको सहजीकरणमा गठन तथा पुर्नगठन भएका कृषक समुहका एक÷एक जना समुदायका अगुवा कृषकहरुको लागि गाउँपालिकाको योजना तर्जुमा प्रक्रिया सम्बन्धि बिषयमा तालिम संचालन भएको हो ।
कृषक समुहका अगुवाहरूलाई गाउँपालिकाको योजना तर्जुमा प्रक्रियामा प्रभावकारी भूमिका खेल्न सक्षम बनाउने र समुदाय तहमा नेतृत्व विकास गर्ने उद्देश्यले २ दिने तालिम सञ्चालन गरिएको प्रयास नेपाल धादिङका पशुस्वास्थ्य प्राविधिक रुपेश तामाङले बताउनु भयो ।
गाउँपालिकाको नीति तथा बजेट निर्माण प्रक्रियामा समुदायको संलग्नताको महत्व, योजना तर्जुमा प्रक्रिया र ७ चरणहरू, योजना तर्जुमामा टोलबस्ती तथा समुदायको भूमिका र समावेशी सहभागिता, वडा तथा पालिका तहमा योजना माग गर्ने प्रक्रिया निवेदन तथा प्रस्तावनाको ढाँचा आवश्यक कागजातहरु लगायतका बिषयमा सहजिकरण भएको थियोे ।
योजना माग निवेदन, समूहको योजना माग निर्णय, प्रस्तावना तयारी, कार्यान्वयन, अनुगमन, तथा मूल्यांकन र योजना सम्झौता, र फरपारक गर्दा पेश गर्नु पर्ने आवश्यक कागजातहरु, र पेशगर्ने समय , स्थानीय स्रोत परिचालन र सहकार्य लगायतका वियषबस्तुमा खनियावास गाउँपालिकाका वडा नं २ का सचिव अशोकबाबू श्रेष्ठ र प्रयास नेपाल धादिङका पशु प्राविधिक रुपेश तामाङले सहजिकरण भएको झार्लाङबाट प्रयास नेपाल धादिङका सामुदायिक सहजकर्ता मनिस तामाङले जानकारी दिनु भयो ।
यसैगरी बुधबारबाट गंगाजमुना वडा नं २ मा भएको तालिममा गंगाजमुना गाउँपालिकाका बरिष्ट सहायक युवराज थपलियाले सहजिकरण गर्नु भएको तावलबाट प्रयास नेपाल धादिङका सामुदायिक सहजकर्ता निशानी तामाङले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस