धादिङ १४ फागुन
नेकपा माओवादी केन्द्र धादिङले आजबाट २१ गते सम्म सहिद सप्ताह मनाउने भएको छ ।
२०५२ साल फागुन १ गते नेकपा माओवादी केन्द्रका पार्टीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको नेतृत्वमा फागुन १४ गते प्रथम सहिद दिलबहादुर रम्तेल र फागुन २१ गते झापा विद्रोहमा सहिद भएका दिनलाई जोडेर हरेक वर्ष सहिद सप्ताह मनाउँदै आएको कारण यस वर्ष पनि सहिद सप्ताह मनाउन लागेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेकपा माओवादी केन्द्र धादिङले प्रेस वक्तव्य जारी गर्दै धादिङबाट ११२ जना सहिदहरु, २८ जना वेपत्ता योद्धाहरु सहित देशभरका करिब १० हजार सहिदहरु र वेपत्ताको स्मरणमा सहिद सप्ताहको अवसरमा सबै सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली र सबै वेपत्ता योद्धाहरुप्रति सम्मान व्यक्त गरेको छ । त्यस्तै जनयुद्ध र १९ दिने आन्दोलनबाट प्राप्त संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक सहभागिता जस्ता उपलब्धीहरुलाई सराहना गरिदिनका लागि सबै तह तप्काका जनसमुदायसँग नेकपा माओवादी केन्द्र धादिङले अपिल गरेको छ ।
त्यस्तै सहिद सप्ताहको अवसरमा महान सहिद, वेपत्ता परिवारजन, अपाङ्ग, घाइते, पूर्व जनमुक्ति सेना नेपाल, जनयुद्धका पूर्ण कालीन तथा सम्पूर्ण सहयोगीहरु लगाएत सबै जनसमुदायहरुमा सहिदले देखाएको बाटोमा लाग्ने विश्वास एवं पूर्ण प्रतिवद्धता व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस