धादिङ १४ फागुन
उत्तरी धादिङको गंगाजमुना गाउँपालिकामा पालिकाको योजना तर्जुमा प्रक्रिया सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ ।
सोमबारबाट सुरु भएको तालिम हिजो मंगलबार सम्पन्न भएको हो ।
गंगाजमुना गाउँपालिका फूलखर्कको तालिम हलमा भएको तालिममा २२ वटा कृषक समुहका अगुवा, लैंगिक च्याम्पियनहरु सहित २७ जनाको सहभागीता रहेको थियो ।
प्रयास नेपाल धादिङको आयोजना र आड्रा नेपालको साझेदारीतामा गंगाजमुनामा सञ्चालित कार्यक्रममा रिलिफ परियोजनाको सहयोग रहेको थियो ।
परियोजनाको सहजीकरणमा गठन भएको कृषक समुहका एक एक जना समुदायका अगुवा सदस्यहरुको लागि गाउँपालिका योजना तर्जुमा प्रक्रिया सम्बन्धि बिषयमा तालिम सञ्चालन भएको हो ।
कृषक समुहका अगुवाहरूलाई गाउँपालिकाको योजना तर्जुमा प्रक्रियामा प्रभावकारी भूमिका खेल्न सक्षम बनाउने र समुदाय तहमा नेतृत्व विकास गर्ने उद्देश्यले २ दिने तालिम सञ्चालन गरिएको प्रयास नेपाल धादिङका उपाध्यक्ष उषा बिकले बताउनु भयो ।
तालिममा गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त बहादुर लामा, उपाध्यक्ष रामेश्वर सिम्खडा, गंगाजमुना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जय बहादुर स्याङ्ताङ, गंगाजमुना गाउँपालिका प्रवक्ता एवम् वडा नं ५ का वडाध्यक्ष कुमार बहादुर अधिकारी, गैसस महासंघका अध्यक्ष शालिकराम दुवाडी, आड्रा नेपालका अधिकृत दिलिपचन्द्र ढकाल, प्रयास नेपाल धादिङका उपाध्यक्ष उषा बिक सहित फिल्डमा कार्यरत कर्मचारीहरु लगायतको सहभागीता रहेको थियो ।
गाउँपालिकाको नीति तथा बजेट निर्माण प्रक्रियामा समुदायको संलग्नताको महत्व, योजना तर्जुमा प्रक्रिया र सात चरणहरू, योजना तर्जुमामा टोलबस्ती तथा समुदायको भूमिका र समावेशी सहभागिता, वडा तथा पालिका तहमा योजना माग गर्ने प्रक्रिया निवेदन तथा प्रस्तावनाको ढाँचा आवश्यक कागजातहरु लगायतका बिषयमा प्रशिक्षण भएको थियोे ।
योजना माग निवेदन, समूहको योजना माग निर्णय, प्रस्तावना तयारी, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन, योजना सम्झौता र फरपारक गर्दा पेश गर्नु पर्ने आवश्यक कागजातहरु, पेशगर्ने समय, स्थानीय स्रोत परिचालन र सहकार्य लगायतका वियषबस्तुमा गंगाजमुना गाउँपालिकाका बरिष्ट सहायक युवराज थपलियाले सहजिकरण गर्नु भएको प्रयास नेपाल धादिङका सामुदायिक सहजकर्ता कविता सापकोटाले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस