धादिङ २६ मङ्सिर
जिल्ला अस्पताल धादिङको विकास र स्तरोन्नतिको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिनिधि सभाका सांसद खेम प्रसाद लोहनीले बताउनु भएको छ । जिल्ला अस्पताल धादिङको ४३ औं वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा लोहनीले सो कुरा बताउनु भएको हो । जिल्ला अस्पताल धादिङमा आएका विरामीहरुलाई अस्पतालका डाक्टर, नर्सहरुले पक्षपात नगरी छिटो र छरितो उपचार गर्नुपर्नेमा जोड दिनुभयो । जिल्ला अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र धमलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा सांसद खेम प्रसाद लोहनीको प्रमख आतिथ्यता रहेको थियो ।
यस्तै प्रदेश सांसद डा. राम कुमार अधिकारीको विशेष आतिथ्यता रहेको कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख जगनाथ नेपाल, उप प्रमुख विन्दा बराम, नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारी, ज्वालामुखी गाउँ पालिकाका अध्यक्ष विनोद तिमल्सिना, शिद्धालेक गाउँ पालिकाका अध्यक्ष प्रेम सिलवाल, नेकपा धादिङका अध्यक्ष नेत्र पौडेल, नेपाली काङ्ग्रेस धादिङका सचिव भक्त लामा लगायत विभिन्न सरकारी तथा गैर सरकारी निकायका प्रमुख एवं प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट त्रिभूवन झाले ५० सैयामा स्तरोन्नति भएको जिल्ला अस्पताल धादिङलाई रिसर्च सेन्टरको रुपमा विकास गर्न सकिने बताउँदै अस्पतालमा महिला तथा प्रशुति, हाडजोर्नी र बाल चिकित्सा विशेषज्ञको आवश्यकता रहेकाले सहयोगका लागि सबै पक्षसँग आग्रह गरेका थिए । कार्यक्रममा अस्पतालका नर्स तथा कर्मचारीहरुले विभिन्न साङ्गीतिक प्रस्तुति समेत देखाएका थिए ।
प्रतिक्रिया दिनुहोस