धादिङ २१ माघ
धादिङमा भएको अन्तरपालिका लोक दोहोरी प्रतियोगितामा ज्वालामुखी गाउँपालिका प्रथम भएको छ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र सामुदायिक संचार तथा विकास केन्द्र धादिङले सदरमुकाम धादिङबेशी स्थित खुल्लामञ्चमा जिल्लामै पहिलो पटक आयोजना गरेको लोक सांस्कृतिक महोत्सवमा भएको अन्तरपालिका लोक दोहोरी प्रतियोगितामा ज्वालामुखी प्रथम भएको हो ।
ज्वालामुखी गाउँपालिकाबाट सहभागी संगिना मगर र सुरेन्द्र मगरको समुहले गजुरी गाउँपालिकाका कलाकार सफल अर्याल र सिता बराल लाई पछि पार्दै विजयी भएका हुन् ।
प्रतियोगितामा प्रथम भएको ज्वालामुखीले नगद ५० हजारसहित प्रमाणपत्र पाएको छ भने द्धितिय भएको गजुरीले ३० हजार नगदसहित प्रमाणपत्र पाएको छ ।
त्यस्तै सिद्धलेक गाउँपालिकाको प्रदिप बराईली र भावना अर्यालको समुह र नीलकण्ठ नगरपालिकाका सुरेन्द्र न्यौपाने र सन्जु लामाको समुहले भने बराबर अंक प्राप्त गरि तृतिय भएका छन् ।
तृतिय भएका दुवै समुहले क्रमश १५÷१५ हजार रुपियाँ नगदसहित प्रमाणपत्र पाएका छन् ।
यस वर्ष सहभागीहरु निकै कडा प्रतिस्पर्धीहरु रहेकाले नतिजा निकाल्न निकै कठिन परेको भन्दै केही अंक भारले मात्र प्रथम, द्धितिय र तृतिय भएका निर्णायक समितिका भरत बराकोटीले जानकारी दिनुभयो ।
दुई समूहलाई त चौथो बनाउन पनि नसकिको र यसरी हेर्दा लोक तथा दोहोरी क्षेत्रमा धादिङका कलाकाहरु अब्बल रहेका बराकोटीको भनाई छ ।
माघ १० गतेदेखी सुरु भएको महोत्सव माघ २२ गते सम्म सञ्चालन हुने महोत्सव मुल आयोजक समितिका संयोजक दिपक कोइरालाले बताउनुभयो।
२० गतेसम्म सञ्चालन गरिने भनिएपनि विशेष कारणवश दुई दिन समय थप गरिएको संयोजक कोइरालाको भनाई छ ।
महोत्सवबाट जुट्ने आर्थिक श्रोतबाट जिल्लाका सम्पूर्ण कलाकारहरुलाई अप्ठेरो परेको बेला आवश्यक सहयोग गर्न राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान धादिङ मार्फत परिचालन हुने गरि कलाकार कल्याणकारी कोष स्थापना गर्ने लक्ष्य राखिएको लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङका अध्यक्ष कमला गैरेले जानकारी दिनुभयो।
प्रतिक्रिया दिनुहोस