धादिङ २३ मङ्सिर
भ्रष्टाचार अन्त्यको सुरुवात आफँैबाट गर्नुपर्ने जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले बताएका छन् । नेपालले सोमबार भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजित अन्तरकृया कार्यक्रममा सो कुरा बताएका हुन् । भूकम्पपछिको पूनः निर्माण र पुनः स्थापनमा सदाचार अपनाऔँ भन्ने मूल नाराका साथ ट्रान्सपरेन्सी इन्टरनेशनलले आयोजना गरेको अन्तरकृया कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपालले व्यक्ति स्वयं नै म भ्रष्टाचार गर्दिन भनेर प्रतिबद्ध भए भ्रष्टाचार आफै निर्मुल हुने बताउँदै स्थानीय तहमा देखिएका भ्रष्टाचार र व्यथिति अन्त्य गर्न आफू लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । यस्तै पूर्व सांसद तथा नेपाली काङ्ग्रेसका नेता रामनाथ अधिकारीले सबै क्षेत्रमा भ्रष्टाचारले जरो गाडेकाले राज्यले ठुला भ्रष्टाचारीहरुलाई पत्ता लगाइ कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको आयोजनामा भएको अन्तरकृया कार्यक्रमको समन्वय जिल्ला प्रशासन कार्यालय धादिङले गरेको थियो भने आर्थिक सहयोग युरोपियन युनियनले गरेको थियो । अन्तरकृया कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, उप प्रमुख विन्दा बराम, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, पूर्व सांसद रामनाथ अधिकारी लगायत विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस