धादिङ १५ माघ
सिद्धालेक गाउँपालिकामा पाठेघर क्यान्सर विरुद्धको एच.पि.भि (ह्युमन पापिलोमा भाइरस) खोप सम्बन्धी अन्तरक्रिया तथा खोप अभियानको पूर्व तयारीको लागि गोष्ठी सम्पन्न भएको छ ।
मंगलबार सिद्धलेक गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा “एचपिभि खोप अभियान २०८१” अन्तर्गत पालिका स्तरीय खोप समन्वय समिति र अन्य सरोकारवालाहरूका लागि अभिमुखीकरण गोष्ठी सम्पन्न भएको हो ।
बैठकले माघ २२ देखि २६ गतेसम्म कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका बालिका र किशोरीलाई एच.पि.भि खोप लगाईने निर्णय गरिएको छ ।
उक्त खोप अभियानलाई सम्पूर्ण तहबाट साथ र सहयोगको जरुरी रहेको र कर्मचारी तथा जनप्रतिनिधिले यसको बारेमा विशेष चासोको रुपमा लिनुपर्ने गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले बताउनुभयो ।
खोप अभियानलाई सफल बनाउन सबै पक्षहरूको सक्रिय सहभागिताको अपेक्षा गरिएको र खोप अभियानमा बालिकाको सहभागिता सुनिश्चित गर्न सिद्धलेक गाउँपालिकाले विशेष पहल गर्ने जनाएको छ ।
परिवार कल्याण महाशाखा अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार सरकारले देशभर करिब १७ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन निशुल्क खोप प्रदान गर्ने योजना बनाएको छ। यसका लागि खोप सातवटै प्रदेशमा पठाइसकिएको छ । सिद्धलेक गाउँपालिकाले यस अभियान अन्तर्गत वडाहरुमा समेत खोप समन्वय समितिको बैठक राखेर खोप केन्द्रहरुबाट विद्यालयमा कक्षा ६ देखि १० का बालिका र बिद्यालय नगएका १० वर्षदेखि १४ वर्ष उमेरका किशोरीलाई खोप लगाउने लक्ष्य राखेको छ ।
सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडाको अध्यक्षतामा सम्पन्न गोष्ठीमा गाउँपालिका उपाध्यक्ष सबिता अर्याल, प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्मा, वरिष्ठ जनस्वास्थ्य अधिकृत शंकर बाबु दुवाडी, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी सम्पूर्ण वडाका वडा अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस