धादिङ १५ माघ
धादिङमा राष्ट्रिय स्तरको खुल्ला फुटबल प्रतियोगिता हुनेभएको छ ।
धादिङ फुटबल क्लबले देशभरबाट क्लव तथा टिमहरु सहभागी हुन पाउनेगरी प्रतियोगिताको आयोजना गरेको हो ।
सदरमुकाम धादिङबेसीको खुल्ला मञ्चमा हुने प्रतियोगिताको ‘प्रथम सुमन स्मृति खुल्ला फुटबल प्रतियोगिता’ नाम दिइएको छ ।
धादिङमा जन्मिएर फुटबललाई व्यवसायिक रुपले अघि बढाउँदै गर्दा निधन हुनुभएका खेलाडी सुमन श्रेष्ठको सम्मान स्वरुप नामाकरण गरिएको क्लवका अध्यक्ष गोपीकृष्ण भण्डारीले बताउनुभयो ।
२०८१ फागुन १२ गतेदेखि १७ गतेसम्म हुने प्रतियोगिता नकआउट चरणमा हुनेछ । नाइन ‘ए’ साइड अन्तर्गत हुने प्रतियोगिताका लागि टिम दर्ता गर्दा कोच र मेनेजर सहित १५ जना हुनेछन् । नौ जनाले मैदानमा खेल्नेछन् भने चार जना अतिरिक्त बस्नेछन् ।
प्रतियोगितामा प्रथम हुने टिमले एक लाख ७५ हजार, दोस्रोले ७५ हजार तथा सेमिफाइनलमा पुग्ने अन्य दुई टिमलाई २५ हजार रुपैंया नगद प्रदान गरिने क्लबका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । धादिङ जिल्लामा भएका खेलकुद प्रतियोगितामध्ये यो नै सर्वाधिक पुरस्कार राशी भएको आयोजकले दावी गरेको छ । यसैगरी प्लेयर अफ टुर्नामेन्ट र अन्य विधामा पनि खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नु, फुटबल खेलको लोकप्रियता वृद्धि गर्नु र स्वस्थ जीवनशैलीको प्रवद्र्धन गर्नु प्रतियोगिताको मूल उद्देश्य रहेको क्लवका अध्यक्ष भण्डारीले बताउनुभयो । उक्त प्रतियोगितामा जहाँसुकैबाट जुनसुकै क्लबले सहभागी हुन पाउने र खेलाडीको उमेर र स्थानले प्रतियोगितामा सहभागी हुन रोक नलगाइएको उहाँले बताउनुभयो ।
लामो समयदेखि जिल्ला सदरमुकाममा फुटबल प्रतियोगिता सञ्चालन हुन नसकिरहेको अवस्थामा प्रत्येक वर्ष खुल्ला फुटबल प्रतियोगिता सञ्चालन गर्ने योजनासहित यो प्रतियोगिता आयोजना गरिएको क्लवका सचिव सरोज पाण्डेले बताउनुभयो ।
खेल क्षेत्रको विकास र त्यसप्रति युवाहरुको आकर्षण बढाउने उद्देश्यसहित आयोजना गरिएको दुबै प्रतियोगिता सम्पन्न गर्न जिल्ला सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकाले बजेट व्यवस्थापनमा सहयोग गरेको छ ।
धादिङ फुटबल क्लवले मंगलबार पत्रकार सम्मेलन गर्दै फुटबल प्रतियोगिताकै बीचमा खुला पुरुष म्याराथुन पनि आयोजना गरिएको जानकारी दिएको छ । म्यारुथुनमा प्रथम हुनेलाई २५ हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार नगद पुरस्कार दिइनेछ ।
प्रतिक्रिया दिनुहोस