धादिङ ८ माघ
धादिङमा प्लाष्टिक जन्य फोहोर व्यवस्थापन र वातावरण संरक्षण सम्बन्धी तालिम सम्पन्न भएको छ ।
मंगलबार सामुदायिक रुपान्तरण समाज नेपाल धादिङको आयोजनामा प्लाष्टिक जन्य फोहोर व्यवस्थापन मार्फत वातावरण संरक्षणको लागि वेकारबाट आविस्कार तालिम सम्पन्न भएको हो ।
यहि माघ ६ गते आईतबार देखि सुरु भएको तालिम मंगलबार एक कार्यक्रमका बिच समापन गरिएको हो ।
तीन दिन सम्म सञ्चालन भएको उक्त तालिममा खेरा गएका मिनिरल वाटर, कोक, फेन्टा जस्ता पेयपदार्थका बोतलबाट विभिन्न घरयासी प्रयोजनमा आउने डोरीहरु (बाख्रा, गाई, गोरु, भैंसी बाँध्न मिल्ने, लुगा सुकाउने, टनेलमा लगाउने) पिङ, झाडु बनाउने जस्ता सामाग्रीहरु बनाउन सिकाईएको थियो ।
त्यस्तै खेरा गएका सिमेन्टका बोराहरुबाट आकर्षक माला, सजावटका फुलहरु जस्ता आकर्षक सामाग्रीहरु समेत बनाउन सिकाईको थियो ।
घरबाट निस्कने प्लाष्टिक जन्य फोहोरलाई साना साना टुक्रा पारी काटेर एक मिनिरलवाटरको बोतलमा कोच्दा एक बोरा फोहोरलाई एउटा मिनिरलवाटरको बोतलमा कोच्न सकिने एक अध्ययनले देखाएको र सोही कुरा तालिममा पनि सिकाईएको सामुदायिक रुपान्तरण समाज नेपाल धादिङका प्रोजेक्ट म्यानेजर ईन्द्रमान शाक्यले बताउनुभयो ।
उहाँले प्लाष्टिक जन्य फोहोरलाई उल्लेखनीय परिमाणबाट घटाउन मिनिरल वाटरको बोतलमा प्लष्टिक जन्य फोहोर कोच्ने विधि उपयुक्त हुने र त्यसै बोतलबाट मुडा गमला जस्ता सामाग्रीहरु बनाउन सकिने पनि बताउनुभयो ।
दिनानुदिन बढ्दै गइरहेको शहरीकरण र सुविधाको खोजीमा मानिसहरुले धेरैै वस्तुहरु बजारबाट आयात गदैं गर्दा शहर मात्रा होइन गाउँघरमा पनि प्लाष्टिक जन्य फोहोर व्यवस्थापन गर्न चुनौती भइरहेको अवस्थामा यस संस्थाले प्रदान गरेको तालिमले टेवा पुग्ने शाक्यले बताउनुभयो ।
अहिले गाउँघर र शहरी क्षेत्रमा फोहर व्यवस्थापनको नाममा प्लाष्टिक जन्य फोहोरहरु जलाउने कार्य तिव्र भइरहेको छ ति जलाइएका वस्तुबाट कार्बनमनोअक्साइड जस्ता विषालु ग्याँस पैदा हुने र त्यस्ता ग्याँसले मानव शरीरमा प्रतिकुल असर पर्ने र क्यान्सर जस्ता प्राणघातक रोगहरु लाग्ने भएकाले स्थानीय तहहरुले अन्य क्षेत्रमा विकास निर्माणका कार्यहरु गदैं गर्दा वातावरणीय प्रदुषण नियन्त्रण गर्ने तर्फ पनि ध्यान दिनुपर्ने बताउनुभएको छ ।
प्लाष्टिक जन्य फोहोरलाई मोहोरमा परिवर्तन गर्न यस्तै सिर्जनात्मक र रचनात्मक ढङ्गले विभिन्न वस्तुहरु निर्माण गरी आर्थिक उपार्जनमा पनि सहयोग पुग्ने र ति वस्तुहरुबाट हुने हानीहरुलाई नियन्त्रण गर्न सकिने शाक्यले बताउनुभयो ।
तालिममा सिकेको सिप अनुसारले प्रशिक्षार्थीहरुले फोहोर व्यवस्थापन गर्न सकेमा तालिम फलदायी हुने प्रशिक्षक राजेन्द्र प्रसाद कंडेलले बताउनु भयो ।
तालिममा सहभागी प्रशिक्षार्थीहरुले एकदमै फरक किसिमको जिवनउपयोगी सिप प्रदान गरेको भन्दै संस्थालाई धन्यवाद दिनुका साथै यस्तो सुनौलो अवसरमा आफु प्रतिनिधी भएर सहभागि हुने मौका पाएकोमा खुशी व्यक्त गर्दै आफुले सिकेका सिपलाई आफ्नो वरपर रहेका छिमेकीहरुलाई समेत सिकाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नीलकण्ठ नगरपालिका, ज्वालामुखी, सिद्धलेक, खनियाबास, गंगाजमुना र रुबीभ्याली गाउँपालिका गरी २१ जनाको सहभागिता रहेको तालिममा सिनेन्द्र पोखरेल र राजेन्द्र प्रसाद कंडेलले प्रशिक्षण दिनुभएको थियो । संस्थाको तर्फबाट सहभागीहरुलाई ति सामाग्रीहरु निर्माण गर्न आवश्यक पर्ने सामाग्रीहरु वितरण गरिएको थियो । कार्यक्रममा शान्ति नेपालका संस्थापक अध्यक्ष तथा सामुदायिक रुपान्तरण समाज नेपाल धादिङका कृष्णमान शाक्य, प्रोजेक्ट म्यानेजर ईन्द्रमान शाक्य, फिल्ड संयोजक राजेन्द्र चेपाङ, तालिम प्रशिक्षक सिनेन्द्र पोखरेल, राजेन्द्र प्रसाद कंडेल, पत्रकार महासंघ धादिङका निवर्तमान अध्यक्ष एवंम रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्मा लगायत अन्य सञ्चार माध्यमका पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस