धादिङ ४ माघ
धादिङबेशीमा फागुन १६ र १७ गते बागमती साहित्यिक महोत्सव हुने भएको छ ।
शुक्रबार कर्मचारी मिलन केन्द्रका अध्यक्ष विष्णु प्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकले महोत्सव आगामी फागुन १६ र १७ गते धादिङबेशीमा आयोजना गर्ने निर्णय गरेको हो ।
स्थानीय साहित्य र सांस्कृतिक गतिविधिहरूलाई प्रोत्साहन दिन तथा क्षेत्रीय साहित्यकारहरूको सिर्जनात्मक कार्यलाई सम्मान गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको कर्मचारी मिलन केन्द्रका अध्यक्ष विष्णु प्रसाद आचार्यले बताउनुभयो ।
बैठकले महोत्सवलाई सफल र भव्य रूपमा सञ्चालन गर्नका लागि मुल संयोजन समिति गठन गरेको छ ।
समितिको प्रमुख संयोजक कर्मचारी मिलन केन्द्रका अध्यक्ष विष्णु प्रसाद आचार्य रहनुभएको छ भने समितिका सदस्यहरूमा नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका प्रवक्ता प्रकाश पौडेल, गायत्री खतिवडा, नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष सिताराम अधिकारी, साहित्यकार एवम् नीलकण्ठ बहुमुखी क्याम्पसका प्राध्यापक डा. नविन बन्धु पहाडी, नीलकण्ठ बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख देवी प्रसाद अधिकारी र लालकाजी श्रेष्ठलाई समावेश गरिएको छ ।
बागमती साहित्यिक महोत्सवले साहित्यका क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा साथै स्थानीय समुदायका बीच सन्देश प्रवाह गर्ने, सांस्कृतिक र सामाजिक एकता प्रवद्र्धन गर्ने र युवा पुस्तामा साहित्यिक चेतना फैलाउने कार्यमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको र साहित्य र संस्कृतिको क्षेत्रलाई थप समृद्ध बनाउनका लागि यस महोत्सवले ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको कर्मचारी मिलन केन्द्रका अध्यक्ष आचार्यले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस