धादिङ ३ माघ
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा नरसिंहधाम विकास सम्बन्धमा वृहत अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।
माघ ५ गते शनिबार वडा नम्बर १ नरसिंहधाम परिसरमा नरसिंहधाम विकास सम्बन्धमा वृहत अन्तरक्रिया कार्यक्रम हुने भएको गाउँपालिकाले सुचना जारी गर्दै जनाएको हो ।
गाउँपालिकाले एक सुचना जारी गर्दै नरसिंहधाम विकास समिति त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ को आयोजना तथा गाउँपालिकाको सहआयोजनामा मकर मेला समापन एवम नरसिंहधाम विकास सम्बन्धमा वृहत अन्तरक्रिया कार्यक्रम हुने जानकारी दिएको हो ।
उक्त सुचना अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रि प्रसाद पाण्डे, कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीको विशिष्ठ आतिथ्यता रहने छ ।
समस्त जनप्रतिनिधीहरु, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, समस्त कर्मचारीहरु, शिक्षकहरु तथा विद्यार्थीहरु, विभिन्न पेशाकर्मीहरु, पत्रकारहरु, सरोकारवाला संघसंस्थाहरु तथा आम त्रिपुरासुन्दरी गाउँपालिकाका बासिन्दाहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।
नरसिंह धाम पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटनको गन्तव्य बनिसकेको छ । साउन महिनाभर चलेको पुरुषोत्तम महायज्ञ कथा अर्चना तथा नृसिंह महायज्ञले यसलाई अझ परिचित गराएको छ। विभिन्न सामाजिक संजालहरुमार्फत पनि यसको प्रचार निकै भएको पाइन्छ । नरसिंह धामलाई धार्मिक पर्यटनका लागि देशकै नमूना स्थल बनाउने योजनासहित काम गरिरहेको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले बताउनुभयो ।
हाल मन्दिर निर्माण भइरहेको स्थान बुढीगण्डकी जलविद्युत् आयोजनाले डुबानमा पर्ने भएपछि ७० मिटर अग्लोसम्म पानीको ताल जाँदा त्यसलाई थेग्न सक्ने गरी जग राखिएको छ ।
भक्त प्रल्हादले ज्ञान प्राप्त गरेको स्थल भएकाले यो स्थान गुरूकुल सञ्चालनको निम्ति अत्यन्त महत्वपूर्ण रहनेको पुरोहित गणेश लोहनी बताउँछन् । भक्त प्रह्लादले तपस्या गर्दा भगवान् नरसिंहले नदीबाट प्रकट भएर दर्शन दिएकाले त्यो नदीको नाम नारसिंहे भनेर रहन गयो र त्यो नदी नै अहिले नेत्रावती (आँखु) नामले चिनिन्छ । नेत्रावती नदी भगवान् शिवजीको आँखाबाट बगेकी हुन् भन्ने पनि जनविश्वास पाइन्छ ।
नरसिंह स्फटिक खम्बाबाट धाम हुँदै आगिञ्चोकसम्म पुग्दा भगवान् नरसिंह प्रकट भएको स्थल, होलीको दहन भएको स्थल (आगिञ्चोक), नारदमुनिले प्रह्लादलाई उपदेश दिनु भएको स्थल पनि यही हो भनिएको छ । विभिन्न पुस्तकहरुमा लेखिएअनुसार यस स्थानलाई श्वेतवराह कल्पमा प्रह्लाद महाराजले तपस्या गरेर भगवान् नरसिंह प्रकट भई दर्शन दिएको स्थल भनी उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस